चाडवाड नजिकिएसँगै व्यापारीलाई सामान आयातको चिन्ता, कमजोर सञ्चार र सडक बन्दैछन् सीमापार व्यापारमा बाधक



काठमाडौं,भदौ २१ । हरेक वर्ष दशैं र तिहार नजिकिँदा मालवाहक सवारी साधनको आवागमनमा आउने अवरोधले चाडवाडलाई लक्षित गरी चीनबाट सामान आयात गर्ने नेपाली व्यापारी चिन्तित हुने गरेका छन् ।

सिन्धुपाल्चोकको नेपाल–चीन सीमास्थित तातोपानी भन्सार नाकातर्फ आउँदै गरेका चिनियाँ मालवाहक कन्टेनर चीनतर्फको सीमाक्षेत्रमा निर्माण भइरहेका कारण केही दिनदेखि चीनतर्फको सीमावर्ती शहर न्यालममा रोकिएका थिए । यता चाडवाडलाई लक्षित सामग्री बोकेका कन्टेनर चीनमै रोकिएका कारण बजारमा अभाव हुने तथा व्यापारीलाई ठूलो घाटा हुने समाचार बाहिरिएका थिए ।

तातोपानी भन्सारका प्रमुख कमलकुमार भट्टराईले एक साताअघि चिनियाँ प्रशासनले निर्माण कार्य अघि बढाउन तीन दिनसम्म सवारी आवागमन रोकेको तर हाल ती कन्टेनर खाली भइसकेको जानकारी दिए । ‘कन्टेनर खाली भइसकेको छ, अहिले दुवैतर्फ कुनै समस्या छैन,’ उनले भने।

यसपटक नेपालतर्फ काठमाडौं र तातोपानी भन्सार जोड्ने सडकको दयनीय अवस्थाका बियर मालवाहक सवारी साधनको आवागमन फेरि अवरुद्ध भएको छ । सडक डिभिजन कार्यालय, भक्तपुरले एक सूचना जारी गर्दै धुलिखेल–खावा सडकखण्डमा मर्मत सम्भारका लागि बिहीवार र शुक्रवार गरी दुई दिन टिपर र मालवाहक सवारीसाधनलाई आवतजावतमा रोक लगाएको हो । 

सडक डिभिजन कार्यालय, भक्तपुरका इञ्जिनीयर सुमन बस्नेतका अनुसार सडकखण्ड निकै चिप्लो भएकाले भारी वर्षाका कारण ठूला सवारी साधन आवतजावतमा जोखिम बढेको बताए । ‘सो सडकखण्डका विभिन्न स्थानमा पानीले बनाएका ठूलो खाडलको मर्मतकार्य हुँदैछ । ठूला सवारी रोकिएको छ तर यात्रुवाहक सवारी साधनको आवागमनमा भने कुनै रोकटोक छैन,’ बस्नेतले भने। 

हरेक वर्ष चाडवाडको समयमा उत्तरी छिमेकी मुलुकबाट सामान आयात गर्न समस्या हुने गरेको व्यापारी बताउँछन् । यो समयमा उत्तरी छिमेकी मुलुकबाट ठूलो परिमाणमा तयारी पोशाक, विद्युतीय उपकरण र फलफूल आयात हुने गरेको छ । नेपालले मुख्यतया चीनमा हस्तकला, जडीबुटी, गलैंचालगायतका वस्तु निर्यात गर्ने गरेको छ ।

नेपाल ट्रान्स हिमालयन बोर्डर कमर्श एशोसिएशनका अध्यक्ष अशोक श्रेष्ठका अनुसार वार्षिक एक तिहाइ व्यापार दशैं र तिहारमा हुने गरेको छ । ‘चाडवाडको व्यापार लागि पर्खिरहेका छौं । यस्ता अवरोधले यातायात शुल्क बढाउँछ र अन्ततः उपभोक्तालाई असर गर्छ,’ उनले भने, ‘आगामी दिनमा आयातको परिमाण बढ्दा यो विषय झनै गम्भीर हुन सक्छ।’

नेपाल–भारत व्यापारका लागि सञ्चारको अभाव र कमजोर पूर्वाधार तात्कालीन चिन्ताको विषय भएकाले यसलाई सम्बोधन गर्न आवश्यक रहेको व्यवसायीको भनाइ छ । ‘मुख्यत: नेपाली र चिनियाँ अधिकारीबीच कमजोर संवादका कारण यस्तो भएको हो,’ श्रेष्ठले भने, ‘नेपाली अधिकारीहरूले आफ्ना चिनियाँ समकक्षीहरूसँग नियमितरूपमा भेटघाट गरी हाम्रो चाडवाडको मौसम र व्यापारका लागि यसको महत्त्वबारे जानकारी गराउन आवश्यक छ।’ 

श्रेष्ठका अनुसार चीनसँगको व्यापारमा सबैभन्दा गम्भीर बाधक भनेको नेपालतर्फको कमजोर पूर्वाधार, विशेषगरी सडक नै हो । पहिरोका कारण केरुङ मार्गमा पनि सवारी आवागमन अवरुद्ध भएको खबर आएको श्रेष्ठले बताए । मुख्यतया रसुवागढी–केरुङ र तातोपानी–खासा नाकाबाट नेपाल र चीनको स्थलमार्गको व्यापार हुने गरेको छ ।

२०७२ को भूकम्प र कोभिड–१९ को सङ्क्रमण फैलिएका बेला अन्तरराष्ट्रिय सीमा नाका बन्द भएका थिए । तातोपानी नाका गत वर्षसम्म बन्द थियो । गोरखामा केन्द्रविन्दु भएर गएको भूकम्पबाट सबैभन्दा बढी प्रभावित जिल्लामध्ये सिन्धुपाल्चोक पनि एक थियो ।

भूकम्पपछि तातोपानी–खासा नाकाको विकल्पका रूपमा रसुवागढी–केरुङ प्रयोगमा आए पनि सन् २०२० को शुरुदेखि तीन वर्षसम्म यो सडक प्रायः बन्द नै रह्यो । विशेषगरी उत्तरी सीमानजिक बसोबास गर्ने नेपालीलाई जीविकोपार्जन र दैनिक उपभोग्य वस्तु खरीदका लागि फाइदा पुर्‍याउन सक्ने दुई देशबीच करीब एक दर्जन अन्य परम्परागत व्यापारिक नाका छन् । यद्यपि, चीनले कोभिड महामारीको कारण देखाउँदै चार वर्षसम्म बन्द गरेपछि यस वर्षको शुरूमा मात्र ती नाका खुला गरिएको थियो।

विगत दुई आर्थिक वर्षमा नेपालको अन्तरराष्ट्रिय व्यापार खुम्चिएको भए पनि गत आवमा चीनतर्फको निर्यात ४६.६ प्रतिशत र आयात ३४.२ प्रतिशतले बढेको भन्सार विभागले जनाएको छ । भारतपछि नेपालको दोस्रो ठूलो व्यापार साझेदार चीनसँगको व्यापार घाटा पनि बढ्दै गएको छ । आर्थिक वर्ष २०७९/८० मा १५ प्रतिशतको हाराहारीमा रहेको यो दर आव २०८०/८१ मा २०.५ प्रतिशतको हाराहारीमा पुगेको छ ।

गत आवमा नेपालले रु दुई खर्ब ९६ अर्ब १० करोड अर्थात् कुल व्यापार घाटाको करीब २०.५ प्रतिशत घाटा व्यहोरेको थियो । सो अवधिमा उत्तरी छिमेकी मुलुकबाट रु दुई खर्ब ९८ अर्ब ७० करोड को आयात र निर्यात रु दुई अर्ब ५० करोडको हाराहारीमा भएको छ । त्यस्तै, चालू आर्थिक वर्षको पहिलो महीनामा उत्तरी छिमेकी मुलुकसँगको व्यापार घाटा रु २४ अर्ब ३८ करोड अर्थात् कुल व्यापारको करिब २१ प्रतिशत छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्