चीनमा सुपर टाइफुन यागीका कारण विद्यालय तथा उडान स्थगित



हङकङ,भदौ २० । चीनमा आएको उष्णकटिबन्धीय आँधी ‘यागी’ सुपर टाइफुनमा परिणत भई टापु प्रान्त हाइनान प्रभावित भएपछि दक्षिणी चीनका सहरहरूमा बिहीबार विद्यालय तथा केही उडानहरू स्थगित गरिएको छ ।

आधिकारिक तथ्याङ्कअनुसार यागीले यस हप्ता फिलिपिन्सको लुजन टापुमा बाढी पहिरो निम्त्याउँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ ।

सिन्ह्वा समाचार एजेन्सीका अनुसार यागी दक्षिण चीन सागर पार गरी पश्चिममा चीनको हाइनानतर्फ गइरहेको अवस्थामा सुपर टाइफुनमा परिणत हुँदा दुई सय नौ किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलिरहेको थियो ।

प्रान्तीय विपद् व्यवस्थापन अधिकारीका अनुसार हाइनानले बिहीबार यागीलाई आपत्कालीन प्रतिक्रियालाई उच्चस्तरमा अपग्रेड गरेको छ । टाइफुनले शुक्रबार दिउँसो हाइनान वा छिमेकी गुआङ्गडोङमा अवतरण गर्ने अनुमान गरिएको छ ।

हाइनानको राजधानी हाइकोमा बिहीबार विद्यालय तथा स्थानीय यातायात सेवाहरू स्थगित गरिएको छ ।

हङकङमा यागीले प्रभाव नपार्ने अपेक्षा गरिए पनि मौसम विज्ञान विभागले सहरको तेस्रो उच्चतम टाइफुन चेतावनी जारी गर्ने जनाएको छ ।

हङकङका किन्डरगार्टेन र विशेष विद्यालय बिहीबार स्थगित गरिएको थियो भने बजेट एयरलाइन्स हङकङ एक्सप्रेसले छ वटा उडान पूनर्निर्धारित गरिएको जनाएको छ ।

यसैगरी ग्रेटर बे एयरलाइन्सले आँधीका कारण चारवटा उडान रद्द गर्ने र थप दुई वटाको पुनः तालिका तय गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्