हरितालिका (तिज) : पुरुष दर्शनार्थीलाई पशुपतिनाथ मन्दिर प्रवेशमा रोक



काठमाडौ,भदौ २० । हरितालिका (तिज) पर्वका अवसरमा पुरुष दर्शनार्थीलाई पशुपतिनाथ मन्दिर प्रवेश गर्न नदिइने भएको छ । हरितालिका (तिज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनका लागि सबै तयारी पूरा भएको जानकारी दिँदै पशुपति क्षेत्र विकास कोषले सो कुरा बताएको हो ।

कोषले तिजका अवसरमा शुक्रबार बिहान ६ बजेपछि पुरुष दर्शनार्थीलाई पशुपतिनाथ मन्दिर प्रवेश गर्न नदिने जनाएको छ । पशुपतिनाथका नित्य दर्शनार्थीलाई त्यसअघि नै दर्शन गरेर फर्कन पनि कोषले आह्वान गरेको छ । वृद्धवृद्धा एवम् बच्चा बोकेका महिलाका लागि लाइनबाट सहज रूपमा दर्शन गरेर फर्कने व्यवस्था मिलाइएको छ ।

कोषले लाम व्यवस्थापन, स्वयंसेवक परिचालन, स्वास्थ्य शिविर एवम् निःशुल्क पानी वितरणलगायत तयारी पूरा गरेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको हो ।

तिजका अवसरमा चार वटै सुरक्षा निकायले पशुपति क्षेत्रमा सुरक्षा दिने गरी व्यवस्था मिलाइएको छ । यस वर्षको हरितालिका (तिज) पर्वका अवसरमा पशुपतिनाथको दर्शनमा आउने व्रतालु भक्तजनका लागि सहज बनाउन चार स्थानबाट लामको व्यवस्था गर्नेगरी तयारी भएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्