कैलालीको गौरीगंगामा गौरा तथा तीज विशेष विविध सांस्कृतिक कार्यक्रम सम्पन्न



धनगढी,भदौ २० । महिलाहरूको पर्व तीज नजिकिएसँगै कैलालीको गौरीगंगा नगरपालिकाको वडा नम्बर ६ विजयनगरमा बुधवार गौरा तथा तीज विशेष विविध सांस्कृतिक कार्यक्रम–२०८१ सम्पन्न भएको छ ।

हाम्रो संस्कृति हाम्रो पहिचान नेपालको आयोजनामा भएको कार्यक्रममा गणेश बिष्ट, उमाकान्त जोशी, जयबहादुर बुढा, दुर्गा रोकाया, हरिना साउँद, हरिकला भण्डारीलगायत स्थानीय कलाकारले प्रस्तुति दिएका थिए । कार्यक्रममा स्थानीय जुपिटर एकेडेमी, अमर माध्यमिक विद्यालय, वीणा विद्या मन्दिर माध्यमिक विद्यालयका विद्यार्थीले नृत्य प्रदर्शन गरेका थिए । 

सुदूरपश्चिम प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री दीर्घ सोडारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेशका अर्थ राज्यमन्त्री प्रकाश बम विशिष्ट अतिथि रहेका थिए । 

कार्यक्रममा गौरीगंगा नगरपालिका नगर प्रमुख देवीदत्त कडेंल, गौरीगंगा नगरपालिका वडा नम्बर ६ का अध्यक्ष टेकबहादुर कुँवर, संस्थाका संस्थापक अध्यक्ष सुरत रावत (डोटेली कान्छा)लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम आयोजक संस्थाका कार्यवाहक अध्यक्ष पुरन सिंह कडायतको सभापतित्वमा भएको थियो । 

कार्यक्रमको सञ्चालन मेखराज जोशीले गरेका थिए भने कार्यक्रममा स्वागत मन्तव्य दलबहादुर बोगटीले दिएका थिए । 

प्रतिक्रिया दिनुहोस्