राजस्व चुहावट नियन्त्रणका विरोधाभास : प्रहरीले सामान समात्छ, अनुसन्धानबाट सजिलै छुट्छन्



वीरगञ्ज,भदौ २० । प्रधानमन्त्री केपी शर्मा ओलीले राजस्व चुहावट नियन्त्रण प्रभावकारी हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरिरहेका बेला स्वयम् प्रधानमन्त्री कार्यालयमातहतको राजस्व अनुसन्धानको निकायमा पुर्‍याइएका अधिकांश मालसामान ‘कागजपत्र मिलेको’ भन्दै छुट्ने गरेका छन् । 

मुख्य नाका वीरगञ्ज र पूर्वी नेपालबाट भित्रिने ढुवानीका साधानमा अनुसन्धान केन्द्रित गरेको बाराको पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयमा पुर्‍याइएकामध्ये अधिकांश मालसामानसहितका गाडी यसरी छुटिरहेको स्वयम् सो कार्यालयका उच्च अधिकारीले बताएका छन् । राजस्व अनुसन्धानले राजमार्गबाट समातेर ल्याएका मालसमान पनि यसरी नै छोडिने गरेको छ । 

राजस्व चुहावट नियन्त्रण प्रभावकारी नभएको निष्कर्षसहित अर्थ मन्त्रालयले हालै राजस्व चुहावट नियन्त्रणका लागि द्रुत गस्ती टोलीसमेत गठन गरेको छ । भन्सार विभाग र आन्तरिक राजस्व विभागका उपमहानिर्देशकको संयोजनमा २ ओटा टोली बनाइएको छ । 

मुख्य नाका वीरगञ्जमा २ ओटा भन्सार कार्यालय छन् । आईसीपी र सुक्खा बन्दरगाह भन्सारबाटै निस्किएका मालसामानसहितका ढुवानी साधनसमेत प्रहरीले समातेर सो कार्यालयमा पु¥याउने गरेको छ । बितेको आर्थिक वर्ष २०८०÷८१ मा राजस्व छलेर भित्रिएको आशंकामा जिल्ला प्रहरी कार्यालय पर्साले ५३ करोड ४६ लाख रुपैयाँ मूल्यबराबरको मालसामान समातेको छ । 

समातिएको अधिकांश मालसामान अनुसन्धानका लागि राजस्व अनुसन्धानको पथलैया कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय, पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक भारतीले आर्थिक अभियानलाई बताए । प्रहरीले बितेको एक वर्षमा राजस्व अनुसन्धानमा मात्रै ४७ करोड २३ लाख रुपैयाँबराबरको मालसामान पठाएको छ । ‘बीलबिजक भएका, तर राजस्व चुहावटको आशंका वा सूचनामा समातिएका मालसामान राजस्व अनुसन्धानमा पठाउने गरिएको छ । बिलबिजक नभएका ६ करोड २३ लाख रुपैयाँबराबरको सामान भन्सार कार्यालयमा पठाएका छौं,’ प्रहरी नायव उपरीक्षक भारतीले भने । 

सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरीले समेत विभिन्न ठाउँमा तस्करीको आशंकामा मालसामान समात्दै आएको छ । पर्सामा सशस्त्र प्रहरीले बितेको एक वर्षमा १९ करोड १६ लाख रुपैयाँबराबरको सामान अनुसन्धान कार्यालयमा बुझाएको छ । १४ करोड ८९ लाख रुपैयाँबराबरको मालवस्तु भन्सारमा पठाइएको सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले जानकारी दिए ।

सशस्त्र प्रहरीले कुल ३४ करोड २७ लाख रुपैयाँको मालसामान अनुसन्धानका निकायमा पठाएको धिमालले बताए । सशस्त्र प्रहरीले गत वर्ष अघिल्लो समीक्षा वर्ष २०७९/८० भन्दा करीब १० करोड रुपैयाँ बढीको मालसामान समातेको थियो । वर्ष २०७९/८० मा २४ करोड २८ लाख रुपैयाँको यस्तो मालसामान अनुसन्धानका निकायमा पठाएको थियो । 

प्रहरीले भन्सार कार्यालयमा पठाएका सबै मालसमान भन्सारले लिलाम गर्दै आएको छ । राजस्व अनुसन्धानमा पुर्‍याइएका अधिकांश मालसामान कागजात हेरेर कारवाहीबिना छुट्ने गरेका छन् । प्रहरीबाट आएका मालसामानमध्ये ९५ प्रतिशत कागजातसँग मिलेको देखिने र चेकजाँचपछि छुट्ने गरेको राजस्व अनुसन्धान कार्यालय, पथलैयाका प्रमुख अनुसन्धान अधिकृत वैकुण्ठप्रसाद सापकोटाले बताए । 

‘प्रहरीले ल्याएकामात्रै होइनन् । हामीले सूचना वा आशंकामा ल्याएका मालसामानमध्ये पनि अधिकांशको परिमाण र बिलबिजकमा कैफियत भेटिन्न,’ प्रमुख अनुसन्धान अधिकृत सापकोटाले भने । 

राजस्व अनुसन्धान कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८०/०८१ मा ५११ ओटा उजुरीको अनुसन्धान टुंगो लागेको छ । तीमध्ये अधिकांश (४८३) प्रारम्भिक अनुसन्धानबाटै टुंगो लागेको देखिन्छ । २५ ओटामा विस्तृत अनुसन्धान भएको र ४ ओटा मुद्दा दर्ता गरिएको राजस्व अनुसन्धानको तथ्यांक छ ।  

प्रतिक्रिया दिनुहोस्