एप्पल-हुवावे शीतयुद्ध : आईफोन १६ सार्वजनिक हुने दिनमै मेट एक्सटी ‘ट्राइ-फोल्ड’ सार्वजनिक गर्ने घोषणा



काठमाडौं,भदौ २० । उच्च मूल्य रेञ्ज र फिचर्स फोनको रूपमा विश्व बजारमा एकछत्र राज गरिरहेको एप्पल र अर्को फिचर्स फोन उत्पादक चिनियाँ कम्पनी हुवावेबीच अघोषित व्यापारिक शीतयुद्ध चर्किएको देखिएको छ । यसको पुष्टि गर्ने एउटा उदाहरण हो- एप्पलको आईफोन-१६ र हुवावेको बहुप्रतिक्षित ट्राइ-फोल्ड फोन ‘मेट एक्सटी’ सार्वजनिक गर्ने मिति एकैदिन तय हुनु ।

विश्वको सबैभन्दा ठूलो कम्पनी एप्पलले यही सेप्टेम्बर १० मा  ‘इट्स ग्लोटाइम’ इभेन्ट गर्दैछ, जहाँ आर्टिफिसियल इन्टेलिजेन्सले सुसज्जित आईफोन १६ र अन्य उत्पादनहरू सार्वजनिक हुने अपेक्षा गरिएको छ । सोही दिन चिनियाँ स्मार्टफोन उत्पादक कम्पनी हुवावेले विश्वकै पहिलो ‘ट्राइ-फोल्ड’ सार्वजनिक गर्ने घोषणा गरेको छ । हुवावे टेक्नोलोजीजले आईफोन १६ सार्वजनिक भएको केही घण्टाभित्रै ‘ट्राइ-फोल्ड’ स्मार्टफोन सार्वजनिक गर्दैछ।  

चीनमा हुवावेको एप्पलसँगको प्रतिस्पर्धालाई महत्त्वका साथ हेरिएको छ । किनकि चीनमा आईफोनले बजार विस्तारका लागि संघर्ष गरिरहेको छ। निर्माता कम्पनीले आईफोन १६ सार्वजनिक भए आफ्नो स्मार्टफोन विक्रीमा वृद्धि हुने देखेको छ ।

हुवावेले घोषणा गरेको नयाँ उत्पादनको बारेमा विस्तृत विवरण सार्वजनिक गरेको छैन । हुवावेले सोमवार माइक्रोब्लगिङ प्लेटफर्म विइबोमा पोस्ट गर्दै सामसङ ग्यालेक्सी जेड फिल्प जस्तै देखिने फोन सार्वजनिक गरेको छ । जुन यसले विकास गरिरहेको डुअल-हिंग्ड ह्यान्डसेटसँग मिल्दोजुल्दो छ। 

हुवावेका कन्जुमर बिजनेस ग्रुपका अध्यक्ष रिचार्ड यु चेङडोङले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै कम्पनीको सबैभन्दा अग्रणी र नवीन उत्पादन आउँदै गरेको बताएका छन् । 

विश्लेषकहरूले एप्पलको लन्चलगत्तै हुवावेले आफ्नो उन्नत ट्राइ–फोल्ड स्मार्टफोन लन्च गर्ने रणनीतिक निर्णयले सुविचारित र चतुर चाललाई दर्शाउने सामाजिक सञ्जालहरूमा उल्लेख गरेका छन् । 

यी दुई फोन सार्वजनिक हुने समयावधि धेरै रहे ठूलो संख्यामा उपभोक्ताले आइफोन १६ सिरिजप्रति आकर्षित हुन सक्थे, जसले गर्दा उनीहरूले हुवावेको ट्राइ-फोल्ड डिभाइसप्रति आकर्षण कम हुनसक्ने थियो  । 

हुवावेका युले विइवोमा मंगलवार गरेको अर्को पोस्टमा कम्पनीको अनुमानित डिभाइसलाई लक्जरी प्रोडक्ट लाइन अल्टिमेट डिजाइनअन्तर्गत मेट एक्सटी भनिने खुलासा गरेका छन् ।

चिनियाँ कम्पनीका मोबाइलले अमेरिकी प्रतिबन्ध भोगिरहेका बेला यसमा प्रयोग भएको ७ नानोमिटर चिपले त्यस्ता प्रतिबन्धहरूले खासै समस्या नपार्ने बताइएको थियो । यो चिप  गत वर्ष सार्वजनिक भएको मेट ६० प्रोमा दिइएको छ । यसलाई चीनमा उक्त कम्पनीको पुनरुत्थान भएको भनिएको थियो ।

त्यसपछि अप्रिलमा हुवावेको मेट-७० प्रो लन्च भएदेखि एप्पलले चीनमा बढ्दो व्यापारिक चुनौतीहरूको सामना गरिरहेको छ । किनकि एप्पलको सबैभन्दा महत्त्वपूर्ण बजारहरूमध्ये चीन एक थियो।

मोबाइल बजारको अन्तरराष्ट्रिय तथ्यांक राख्ने आईडीसीको तथ्यांकअनुसार प्रिमियम सेगमेन्टमा एप्पल अझै पनि विश्वबजारको शीर्ष स्थानमा छ, जसमा ६०० अमेरिकी डलरभन्दा बढी मूल्यका ह्यान्डसेटहरू छन् ।

मार्चमा सार्वजनिक भएको त्रैमासिक प्रतिवेदनमा यसको बजार हिस्सा अघिल्लो वर्षको ७० प्रतिशतबाट घटेर ५८ प्रतिशतमा झरेको छ । बजारमा हुवावेको हिस्सा त्यस त्रैमासिकमा २० प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्ष १२ प्रतिशत थियो।

मार्केट एनालिटिक्स फर्म क्यानालिसका अनुसार एप्पल दोस्रो त्रैमासिकमा शिपमेन्टको आधारमा चीनमा शीर्ष पाँच स्मार्टफोन विक्रेताहरूबाट बाहिरिएको छ । चिनियाँ सञ्चारमाध्यमका अनुसार हुवावेले लामो समयदेखि तीन खण्ड भएको फोल्डेबल स्मार्टफोन ल्याउने तयारी गरिरहेको बताइएको छ । 

युले जुलाईमा एक अन्तर्वार्ता दिँदै कम्पनीले विगत पाँच वर्षदेखि ‘नेक्स्ट जेनेरेसन अफ फोल्डेबल फोन’मा काम गरिरहेको बताएका थिए । चाइना नेशनल इन्टेलेक्चुअल प्रोपर्टी एडमिनिस्ट्रेसनका अनुसार शेन्जेनस्थित कम्पनीले सन् २०२२ मा डुअल हिङ्ड डिभाइसको पेटेन्ट फाइल गरेको थियो ।

काउन्टरपोइन्ट रिसर्चको तथ्याङ्कअनुसार यस वर्षको पहिलो त्रैमासिकमा हुवावेले सामसङ इलेक्ट्रोनिक्सलाई पछि पार्दै ३५ प्रतिशत बजार हिस्साका साथ विश्वको सबैभन्दा बढी विक्री हुने फोल्डेबल स्मार्टफोन ब्रान्ड बन्न सफल भएको जनाएको छ । हुवावेको विक्री अझै पनि मुख्यतया चीनमा निर्भर छ, तथापि गुगल सेवाहरू जस्ता अमेरिकी टेक्नोलोजीमा पहुँचमा प्रतिबन्धले विदेशमा यसको उत्पादनहरूको मागलाई सीमित गरेको छ। एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्