दश लाखका चाँदीका गहनासहित युवक पक्राउ



सिरहा,भदौ १८ । सिरहा प्रहरीले स्रोत नखुलेको १० लाखभन्दा बढी मूल्य बराबरको चाँदीका विभिन्न गरगहनासहित एक युवकलाई लहानबाट नियन्त्रणमा लिएको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लहानले आइतबार बेलुका ७ बजे लहान–७ दुर्गामन्दिरबाट मोरङ उर्लाबारी नगरपालिका–५ का ३० वर्षीय दिपेन्द्र विश्वकर्मालाई करिब आठ केजी चाँदीको गहनासहित पक्राउ गरेको हो ।

चाँदीका गहना बोकेर लहान बजारबाट दुर्गा मन्दिरतर्फ आउँदै गरेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले पैदलयात्रीले बोकेको कालो रङको झोला जाँच गर्दा रू १० लाख ४० हजार मूल्य बराबरको चाँदीको गहनासहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मुक्तिनाथ सापकोटाले जानकारी दिए । 

प्रहरीले कहाँबाट र कसका लागि गहना ल्याएको भन्ने अनुसन्धान गरिरहेको र गरगहनासहित विश्वकर्मालाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी, सुनसरी पठाउने तयारी भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्