किसानका पक्षमा इमान्दारपूर्वक काम गर्ने प्रतिबद्धता बोकेको छु : मन्त्री अधिकारी
काठमाडौं,भदौ १७। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले आफूले किसानका पक्षमा इमान्दारपूर्वक काम गर्ने प्रतिबद्धता बोकेको बताएका छन् ।
मुक्तिनाथ कृषि कम्पनीको छैटौं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा मन्त्री अधिकारीले गाउँमै फर्किएर कृषि कर्म गर्न अभिप्रेरित गर्ने कार्य गरेकोमा कम्पनीको प्रशंसासमेत गरे । कृषि क्षेत्रमा वार्षिक बजेट बढाउन आवश्यक रहेको बताउँदै मन्त्री अधिकारीले कृषिको व्यावसायिकरणमा प्रविधि, पूर्वाधार, जनशक्ति तथा बजार प्रमुख भएकाले यस क्षेत्रमा व्यवस्थित र रणनीतिक लगानीको आवश्यकता रहेको उल्लेख गरे ।
सरकारले घोषणा गरेको कृषिमा लगानी दशकलाई सफल बनाउने दायित्व निजी क्षेत्रको समेत भएको उल्लेख गर्दै मन्त्री अधिकारीले यसका लागि मन्त्रालयले गृहकार्य गरिरहेको बताए । उनले स्थानीय तहबाट नै उत्पादन क्षेत्रहरूको घोषणा गर्ने, कृषिको रूपान्तरणको लागि प्रमुख बाली पूर्वाधारको छनोट गर्ने, कृषिमा लगानी दशक कार्यक्रम कार्यान्वयन कार्ययोजना तयार गर्ने र सोको कार्यान्वयनको लागि सार्वजनिक सहकारी र निजी लगानी केन्द्रित गर्नु अपरिहार्य भएकाले कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यसको आवश्यक तयारी गरिरहेको उल्लेख गरे ।
निजी स्तरबाट कृषिमा काम गर्ने कम्पनीहरूको भूमिका खासगरी कृषिको डिजिटलाइजेसन, कृषि उत्पादनको बजारीकरण, कृषि उपजको प्रशोधन, स्वदेशी उत्पादनलाई निर्यात गर्नेतर्फ केन्द्रित हुन आवश्यक रहेको मन्त्री अधिकारीले बताए । सरकार र किसानबीचको खाडल पुर्न निजीक्षेत्रको भूमिका महत्त्वपूर्ण हुनेमा जोड दिँदै उनले निजी क्षेत्रको सहभागिताबिना कृषिमा लगानी दशकले सार्थकता पाउन नसक्ने बताए ।
मन्त्री अधिकारीले लगानी दशकले वर्तमान शासकीय संरचनाका तीनओटै तह, कृषक, सहकारी, निजी क्षेत्र, विकास साझेदारको लगानी कृषि क्षेत्रको व्यावसायीकरणमा केन्द्रीत गर्ने अपेक्षा पनि व्यक्त गरे ।
कृषिमा लगानी दशकको प्रस्थान विन्दुको रूपमा स्थानीय तह, प्रदेशका जिल्लास्थित कृषि तथा पशुपन्छी क्षेत्र हेर्ने कार्यालयहरू, प्रदेश मन्त्रालय, संघीय मन्त्रालय, कृषि अनुसन्धान परिषद तथा कृषि उद्यम केन्द्रलगायतमा लगानीका क्षेत्रहरूको पहिचान सहजीकरणको लागि डेस्क स्थापना गरिने जानकारी पनि मन्त्री अधिकारीले दिए ।