चालकदल सहित २२ जना बोकेको हेलिकप्टर बेपत्ता



मस्को,भदौ १६ । रसियाको कामचट्का प्रायद्वीपमा २२ जना यात्रु बोकेको हेलिकप्टर बेपत्ता भएको त्यहाँका अधिकारीहरुले शनिबार बताएका छन् ।स्थानीय समय अनुसार दिनको ४ बजेर १५ मिनेटमा एमआई -८ हेलीकाप्टरको सम्पर्क विच्छेद भएको हो ।

‘विमानमा १९ जना यात्रु र तीन जना चालक दलका सदस्य गरि २२ जना सवार थिए,’ कामचट्काका गभर्नर भ्लादिमिर सोलोडोभले टेलिग्राममा पोस्ट गरेको भिडियोमा भनेका छन्। रुसी अधिकारीहरुका अनुसार हेलिकप्टर सहित हराइरहेका यात्रुको रातभर खोजी गरिरहेका छन्। एमआई-८ सोभियत डिजाइनको सैन्य हेलिकप्टर हो जुन रूसमा यातायातको लागि व्यापक रूपमा प्रयोग गरिन्छ।

हराएको हेलिकप्टरले जंगल र सक्रिय ज्वालामुखीकालागि चिनिने प्रायद्वीपको क्षेत्रमा रहेको वाचकाझेट्स प्राचीन ज्वालामुखी नजिकैबाट यात्रुहरूलाई उठाएको थियो। आपतकालीन सेवाको एक अधिकारीले स्थानीय समाचार संस्था तासलाई बताएअनुसार हेलिकप्टर उडेको केही समयपछि राडारबाट गायब भएको थियो र चालक दलका सदस्यलाई कुनै समस्या भएको थिएन ।     

स्थानीय मौसम सेवाले विमानस्थलको क्षेत्रमा भिजिबिलिटी कम रहेको जनाएको छ । रूसको सुदूर पूर्वी क्षेत्रमा विमान र हेलिकप्टरहरू दुर्घटनाहरू धेरै हुन्छन्, जुन कम जनसंख्या भएको स्थान हो ।

सन् २०२१ को अगष्टमा १३ जना पर्यटकसहित १६ जना सवार एमआई–८ हेलिकप्टर भिजिबिलिटी कम भएका कारण कामचट्काको तालमा खस्दा आठ जनाको मृत्यु भएको थियो । सोही वर्षको जुलाईमा प्रायद्वीपमा अवतरण का लागि आएको एउटा विमान दुर्घटनाग्रस्त भएको थियो जसमा २२ जना यात्रु र ६ जना चालक दलका सदस्य थिए। (एएपी/रासस)

प्रतिक्रिया दिनुहोस्