काठमाडौं विश्वविद्यालय र हिमालय महालक्ष्मी टि गार्डेनबीच कृषिसम्बन्धी सहकार्य



काठमाडौं,भदौ १५ । काठमाडौं विश्वविद्यालयको स्कुल अफ साइन्स र हिमालय महालक्ष्मी टि गार्डेन प्रालिबीच सहकार्य हुने भएको छ । 

विश्वविद्यालयमा कृषि विज्ञान अध्ययनरत विद्यार्थीलाई हिमालय महालक्ष्मीले आफ्नो चिया बगानमा प्रयोगात्मक अभ्यास गर्न दिने र कम्पनीका कर्मचारीलाई विश्वविद्यालयले तालिम दिने समझदारी भएको प्रेस विज्ञप्तिमा उल्लेख छ। 

‘काठमाडौं विश्वविद्यालयले हिमालय महालक्ष्मी टि गार्डेनका कर्मचारीहरूलाई कृषि प्राविधिक तालिम प्रदान गर्दै चियालगायत अन्य व्यावसायिक खेतीसम्बन्धी ज्ञान, शीप र क्षमता बढाउने कार्यमा सहयोग गर्नेछ,’ दुवै संस्थाले जारी गरेको प्रेस विज्ञप्तिमा लेखिएको छ । 

समझदारीपत्रमा विश्वविद्यालयको स्कुल अफ साइन्सका डिन प्रा. डा. जनार्दन लामिछाने र टि गार्डेनका सञ्चालक सुदर्शन चापागाईले हस्ताक्षर गरेका छन्। 

समझदारीपत्र अनुसार विश्वविद्यालयले हिमालय महालक्ष्मी टि गार्डेनमा एग्रिकल्चर रिसर्च सेन्टर स्थापना गर्ने प्रेस विज्ञप्तिमा उल्लेख छ। उक्त रिसर्च सेन्टरले चियासँगै अन्य कृषि उपजबारे अनुसन्धान गर्नेछ। अनुसन्धानबाट प्राप्त निष्कर्षलाई व्यावसायिक खेतीमा प्रयोग गरिने बताइएकाे छ । यसबाट कृषि क्षेत्रको उत्पादन तथा प्रशोधनमा समेत आधुनिकीकरण हुने अपेक्षा लिइएको छ । 

प्रतिक्रिया दिनुहोस्