भारतीय अर्बपति अम्बानीको रिलायन्स इन्डस्ट्रिजद्वारा शतप्रतिशत बोनश शेयर दिने तयारी
काठमाडौं,भदौ १४ । भारतीय अर्बपति व्यापारी मुकेश अम्बानी अध्यक्ष रहेको रिलायन्स इन्डस्ट्रिज लिमिटेडले आफ्ना शेयरधनीलाई बोनस शेयर वितरण गर्ने तयारी गरेको छ ।
कम्पनीको आगामी सेप्टेम्बर ५ मा बस्ने बोर्ड बैठकमा १ः१ अनुपातमा बोनस शेयर वितरण गर्नेबारे विचार गरिने कम्पनीका अध्यक्ष अम्बानीले बताएका छन् ।
थप बोनश शेयरको अनुमोदनको लागि सिफारिस गर्न उक्त दिन कम्पनीको सञ्चालक समिति बैठक बस्न लागेको हो ।उक्त प्रस्ताव स्वीकृत भएमा लगानीकर्ताले हाल होल्ड गरेको शेयरमा थप शेयर प्राप्त गर्नेछन् ।
जगेडा कोषको पूँजीकरण गरी कम्पनीका शेयरधनीहरूका लागि १ः१ को अनुपातमा बोनस शेयर जारी गर्ने कम्पनीले जनाएको छ ।
कम्पनीलाई उद्धृत गर्दै समाचारमा भनिएको छ ‘कुनै पनि अतिरिक्त लागतबिना उनीहरू (शेयरधनी)को शेयर दोब्बर हुन्छ । यसले उनीहरूको लगानीको समग्र मूल्यमा परिवर्तन गर्ने छैन, यसले बजारमा शेयरको तरलता बढाउन सक्छ ।’
उक्त कम्पनीले पेट्रोकेमिकल्स, रिफाइनिङ, तेल, दूरसञ्चार र खुद्रा जस्ता क्षेत्रहरूमा लगानी गरेको छ । एएनआई