चिट्ठा प्रक्रियाबाट छानिए इजरायल जाने नेपाली केयरगिभर
काठमाडौं,भदौ १४ । केयरगिभरका रूपमा इजरायल जान आवेदन दिएका नेपाली कामदार चिट्ठा प्रक्रियाबाट छानिएका छन् ।
इजरायलको जेरुसेलमस्थित जनसंख्या तथा अध्यागमन प्राधिकरण (पीआईबीए)को कार्यालयमा बिहीवार सम्पन्न चिट्ठा प्रक्रियाबाट २ हजार २०० कामदार छानिएका हुन् ।
इजरायलमा सहायक कामदारको रूपमा काम गर्नका लागि छानिएका कामदारहरूमध्ये ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष छन् ।
इजरायलका अध्यागमन निर्देशक मोशे नाकाशको उपस्थितिमा भएको उक्त चिट्ठा कार्यक्रमको प्रत्यक्ष प्रशारणसमेत गरिएको थियो ।
छनोट प्रक्रियाको पारदर्शिता र निष्पक्षता सुनिश्चित गर्न नेपालस्थित इजरायली राजदूतावास, मन्त्रालयका अधिकारी र सञ्चारकर्मी प्रत्यक्ष प्रसारणमा सहभागी भएका थिए ।
छनोट भएका उम्मेदवारहरूको अन्तिम चरणको स्वास्थ्य परीक्षण हुनेछ । शारीरिकरूपमा तन्दुरुस्त भएको पुष्टि भएकाहरू आगामी सेप्टेम्बरदेखि इजरायल जानेछन् ।