किन हुँदैछ एमजीको विद्युतीय गाडी धेरै दुर्घटना ?
काठमाडौँ,भदौ १३ । पछिल्लो समय नेपालमा नयाँ नयाँ ब्राण्डका विद्युतीय गाडी (ईभी)को उपलब्धता बढ्न थालेको छ । तर गत सालसम्म कयौँ ब्राण्डहरु नेपालमा थिएनन् । त्यस्तो बेला टाटा र बीवाईडी पछि सबैभन्दा धेरै ईभी बेच्ने कम्पनी नै एमजी बनेको थियो ।
यति धेरै लोकप्रिय भएर पनि एमजीको गाडीहरु सुरक्षा प्रबन्धका हिसाबले चुनौतीपूर्ण देखिन थालेका छन् । यसका गाडी बारम्बार दुर्घटना परिरहेका छन् ।
विहीबार पुनः अर्को एक गाडी काठमाडौँको टीकाथली ५ मा दुर्घटना भएको छ । बागमती प्रदेश–०१–०२९ च ६७४५ नम्बरको एमजी रोभरको जेडएस ईभी दुर्घटना भएको हो ।
गाडीको टायर परिवर्तन गरिएपछि सेन्सरले काम नगरेर ब्रेक फेल भएको दुर्घटना स्थलमा खटिएका उद्धार टोलिलाई उर्द्धृत गर्दै पत्रकार लेखनाथ पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
उनले सामाजिक सञ्जालमा प्रविष्ट गरेका तस्वीरहरुमा सेतो रंगको उक्त एसयुभी सडकबाट चिप्लिएर कसैको घरमा ठोक्किन पुगेको देखिन्छ । ब्रेक फेल भएपछि गाडी आफैँ ब्याक हटेर दुर्घटना भएको भनिएको छ ।
एमजीका गाडीमा अगाडी बढाउन खोज्दा रिभर्समा जाने र रिभर्समा लानखोज्दा अगाडी बढ्नेजस्ता समस्या भएको भनेर चालकहरुले सामाजिक सञ्जालमा लेखेका छन् । यसअघि गत असार १८ मा त्रिभुवन विमानस्थलमा पनि एमजीको जेडएस ईभी नै दुर्घटनामा परेको थियो ।
नेपाली कांग्रेसका नेता एवम् पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानकी श्रीमती विद्या वनमाली प्रधानले पार्किङबाट गाडी निकाल्न स्टार्ट गर्ने वित्तिकै गाडी एक्कासी हुत्तिएर दुर्घटना भएको थियो । अकस्मात् गाडी हुत्तिएर प्रतिघण्टा १०० भन्दा ज्यादा रफ्तार पक्डिएपछि चालकले गाडी नियन्त्रणमा लिन सकिनन् ।
बागमती प्रदेश–०१–०२७–१५९० नम्बरको उक्त गाडी एक ट्याक्सिमा ठोक्किएर अघि बढेपछि थप क्षति नहोस् भनेर चालक विद्याले इँटाको थुप्रोमा लगेर गाडी ठोकेकी थिइन् । तर उक्त गाडीको एयरब्याग समेत नखुलेपछि उनी गम्भीर घाइते भएकी थिइन् ।
त्यसअघि २०८० पुस ८ मा एमजीको यही मोडलको अर्को गाडीमा आगलागी भएको थियो । पार्किङमा राखेर चार्ज गरिरहेको अवस्थामा मध्येराती आगलागी भएको हो । बागमती प्रदेश–०१–०२७ च १५८१ नम्बरको उक्त गाडी साँझ ६ बजेदेखि नै चार्जमा जोडिएको भए पनि राती १ बजेतिर आगलागी भएपछि जलेर नष्ट भएको थियो ।
गोरखाको नामजुङ स्थायी घर भएका सुदीप लामिछानेको उक्त गाडी जलेपछि लामो समयसम्म विक्रेता कम्पनीले बेवास्ता गरेको र यससम्बन्धि समाचारहरु प्रकाशित हुन थालेपछि कम्पनीले ‘डिल गरेको’ उनलाई उर्द्धृत गरेर विभिन्न सञ्चार माध्यमकले समाचार प्रकाशित गरेका थिए ।
एमजी रोभर ब्रिटिश कम्पनी भए पनि केही वर्षअघि यसबाट रोभर छुट्टीएको छ भने एमजी अहिले चिनियाँ स्वामित्वमा आएको छ । सन् २००७ मा चीनको सरकारी संस्थान शाङ्हाइ अटोमोटिभ इन्डस्ट्रि कर्पोरेशन (साइक) ले एमजी ब्राण्ड खरीद गरेपछि अहिले उसैले विश्व बजारमा ईभी र हाइब्रिड गाडीहरु बेचिरहेको छ ।
नेपालमा भने एमजीको गाडी पारामाउण्ट मोटर्स प्रालिले बेच्छ । यो कम्पनी मुरारका समूह अर्थात् नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारकाको परिवारको स्वामित्वमा छ ।