बाढीपहिरोमा परेर २१० जनाको मृत्यु
काठमाडौ,भदौ १२ । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपदमा परी बुधबार दिउँसोसम्म दुई सय १० जनाको मृत्यु भएको छ।
बाढी, पहिरो लगायतका विपदमा परी काठमाडौँ उपत्यकामा तीन जना, कोशी प्रदेशमा २९ जना, मधेस प्रदेशमा आठ जना, बागमती प्रदेशमा ४६ जना, गण्डकी प्रदेशमा ५६ जना, लुम्बिनी प्रदेशमा ३८ जना, कर्णाली प्रदेशमा १४ जना र सुदूरपश्चिम प्रदेशमा १६ जना गरी जम्मा दुई सय १० जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार बाढी पहिरोका कारण काठमाडौँ उपत्यकामा ११ जना, कोशी प्रदेशमा ४२ जना, मधेस प्रदेशमा १२ जना, बागमती प्रदेशमा ३१ जना, गण्डकी प्रदेशमा ४७ जना, लुम्बिनी प्रदेशमा २५ जना, कर्णाली प्रदेशमा ६८ जना र सुदूरपश्चिम प्रदेशमा ३६ जना गरी जम्मा दुई सय ७२ जना घाइते भएका छन्।
बाढीपहिरोमा परेका काठमाडौँ उपत्यकामा ३३ जना, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, लुम्बिनी प्रदेशमा चार जना, कर्णाली प्रदेशमा दुई जना र सुदूरपश्चिम प्रदेशमा एक सय एक जना गरी जम्मा दुई सय १५ जनाको उद्धार गरिएको प्रवक्ता कार्कीले बताए।