एक सातायता प्याजको भाउ महँगियो
काठमाडौ,भदौ १२ । पछिल्लाे एक सातायता नेपाली बजारमा प्याजको भाउ महँगिएको छ । प्याजमा भारतसँग परनिर्भर रहँदै आएको नेपाल भारतमा महँगो भएको हल्ला आउनेबित्तिकै यसको असर नेपाली बजारमा देखिन थालेको हो । पछिल्लो एक साताको बिचमा प्याजको भाउ थोकमै प्रतिकेजी ४० रुपियाँ महँगिएको छ भने खुद्रा यो भाउ अझै महँगो भएको छ ।
देशकै ठुलो तरकारी बजार कालीमाटी फलफूल तथा तरकारी बजारमा मङ्गलबार प्रतिकेजी १२० रुपियाँ थोकमा कारोबार भएको छ । जबकि एक साताअगाडि प्याज प्रतिकेजी ८० रुपियाँ थोकमा कारोबार भएको थियो । खुद्रा बजारमा प्याज प्रतिकेजी १५० रुपियाँमा कारोबार भएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार सामान्य अवस्थामा औसतमा भारतबाट एक सय मेट्रिक टन प्याज भित्रिँदै आएको बजारमा पछिल्लो एक सातादेखि औसतमा ४५ मेट्रिक टन प्याज भित्रिएको छ । समितिका प्रव्रक्ता विनय श्रेष्ठले बजारमा प्याजको आगमन आधाले घटेसँगै भाउ महँगो भएको जानकारी दिए । उनका अनुसार प्याज महँगो हुनुका कारण व्यापारीसँग बुझ्दा भारत सरकारले प्याज निर्यातमा कडाइ गर्न निर्यात महसुल वृद्धि गरेकाले यसको असर नेपाली बजारमा देखिएको बुझिएको छ ।