नारायणगढ बजार चौबीसै घण्टा खुलाउन माग
भरतपुर,भदौ १२ । चितवनका व्यवसायीले नारायणगढ बजार चौबीसै घण्टा खुलाउन माग गरेका छन् । शनिवार नारायणगढमा सम्पन्न होटल व्यवसायी संघ, चितवनको २८औं साधारणसभामा व्यवसायीले यस्तो माग गरेका हुन् ।
कार्यक्रममा उद्योग संघ चितवनका कार्यवाहक अध्यक्ष चिरञ्जीवी सुवेदीले अहिले ‘भरतपुर भ्रमण वर्ष २०२४’ चलिरहेकाले विशेषगरी होटल व्यवसाय चौबीसै घण्टा खोल्नुपर्नेमा जोड दिए । आर्थिक मन्दीका कारण होटल व्यवसायी समेत पलायन हुनुपरेको भन्दै उनले सरकारले व्यवसायीलाई करमा छूट दिनुपर्ने समेत बताए ।
यस्तै होटल व्यवसायी संघ, चितवनका पूर्वअध्यक्ष इमान्दु बरालले नारायणगढको पुल्चोक क्षेत्र चौबीसै घण्टा खुला राख्नुपर्ने बताए । भरतपुर भ्रमण वर्षले यहाँका होटलमा केही सुधार भएको उनले उल्लेख गरे । उद्योग संघ चितवनका कार्यवाहक अध्यक्ष सुवेदीले उद्योगी व्यवसायीको सहजताका लागि संघले आन्तरिक राजस्व कार्यालयमा सहायता कक्ष राखेको उल्लेख गर्दै उनले दोहोरो कर नलगाउन आग्रह गरे । होटल व्यवसाय क्षेत्रमा मात्रै नभई अन्य उद्योग व्यवसाय क्षेत्रमा समेत दक्ष जनशक्ति अभाव हुँदै गएको उनले बताए । होटल व्यवसायी संघ, चितवनका अध्यक्ष लोकनाथ भट्टले होटल व्यवसाय क्षेत्रमा जनशक्ति अभाव हुँदै जाँदा भारतबाट जनशक्ति ल्याउनुपर्ने बाध्यता भइसकेको बताए । ‘एक त व्यापार व्यवसाय नै कम छ, अर्को दक्ष जनशक्ति पनि छैन,’ उनले भने । व्यवसाय चलायमान बनाउन घरबहाल कर २० प्रतिशत घटाउनुपर्ने र अनुगमनको नाममा व्यवसायीलाई आतंकित बनाउनु नहुने उनले बताए ।
होटल व्यवसायी महासंघका अध्यक्ष दिनेशकुमार चुकेले जुनसुकै व्यवसायमा अहिले जनशक्तिको अभाव रहेको उल्लेख गरे । जनशक्ति उत्पादनका लागि एकद्वार प्रणालीबाट तालीमको व्यवस्था गर्नुपने धारणा उनले राखे ।
आर्थिक सुस्तीले नारायणगढमा अहिले ७० प्रतिशत पसल व्यवसाय बन्द हुने अवस्थामा पुगेको व्यवसायीले बताएका छन् । पार्किङको समस्याले पनि व्यवसायमा ह्रास आएको उनीहरूको गुनासो छ । नारायणी नदी किनारमा रहेका साना अव्यवस्थित घुम्ती होटललाई व्यवस्थित गरी नदी किनारलाई सुन्दर बनाएर नारायणगढको पहिचानको रूपमा विकास गर्नुपर्नेमा व्यवसायीको जोड छ ।
नारायणगढ बजार अहिले पार्किङ असुविधाले अस्तव्यस्त हुन थालेको छ । उद्योग वाणिज्य संघ, चितवनले व्यवसायीको समस्या समाधानका लागि विभिन्न काम गर्दै आएको र यसमा सबै व्यवसायीको साथ चाहिने बताएको छ । कार्यक्रममा भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले भरतपुर भ्रमण वर्ष सफल बनाउन निजीक्षेत्रको विशेष भूमिका रहेकाले जायज माग सम्बोधन गरिने बताइन् । भरतपुर भ्रमण वर्षलाई लक्षित गरी सञ्चालनमा आएका नयाँ गन्तव्य तथा व्यवसायमा पर्यटकको आकर्षण बढेको उनको भनाइ छ । ‘खुलेको एक महीनामै दियालो बंगला दरबारमा १० हजार पर्यटक आइसकेका छन्,’ उनले भनिन्, ‘हाम्रो लक्ष्य पूरा गर्न नेपालका सीमा क्षेत्रबाट धार्मिक पर्यटक र चीनमा गएर भरतपुर भ्रमण वर्षको प्रवर्द्धन गर्नुपर्छ ।’
भरतपुर भ्रमणको प्रवर्द्धन गर्न कात्तिकमा धार्मिक महोत्सव समेत गर्न लागिएको उनले बताइन् । नारायणढमा पार्किङलगायत समस्या समाधान गर्न स्थानीय, व्यवसायी र महानगरको छलफलबाट समाधान खोजिने आश्वासन उनले दिइन् ।
होटल व्यवसायी संघ, चितवन जिल्लाका मझौला खालका होटल व्यवसायीको छाता संस्था हो । संघमा पर्यटकीय स्तरीय होटल बाहेक दुई हजारभन्दा बढी होटल आबद्ध छन् ।