नेपाली समुदाय बन्यो अष्ट्रेलियाको दशौं ठूलो आप्रवासी समुदाय
काठमाडौं,भदौ १२। अष्ट्रेलियामा बसोवास गर्ने आप्रवासी समुदायहरूमा नेपाली समुदाय १० औं ठूलो आप्रवासीहरूको समुदाय बनेको छ ।अष्ट्रेलियाको गृहमन्त्रालय ( अस्ट्रेलियन डिपार्टमेन्ट अफ होम अफेयर्स) ले सार्वजनिक गरेको २०२२ सम्मको तथ्यांक अनुसार १ लाख ५१ हजार १४० जना नेपाली बसोवास गर्छन् ।
यो संख्या अष्ट्रेलियाको कुल जनसंख्याको ०.६ प्रतिशत हो। यो संख्या सन २०१२ को तथ्यांकको ५ गुणाले बढी हो । उक्त तथ्यांक अनुसार सन २०१२ सम्ममा यो संख्या ३० हजार ७३० मात्रै थियो ।
पछिल्लो १० वर्षमा अष्ट्रेलियामा पीआर परमिट लिनेको संख्या झण्डै पाँच गुणाले बढेको छ । गत वर्ष चार हजार ३८० नेपालीले क्षेत्रीय क्षेत्रमा बसाइँ सरेर पीआर परमिट लिएका थिए भने व्यावसायिक लगानी तथा नवप्रवर्तन अन्तर्गत करिब ५ हजारले भिसा लिएका थिए ।
यसैगरी रोजगारदाता प्रायोजनबाट ७६१, सीपयुक्त स्वतन्त्रतर्फ २ हजार ७६३, राज्य तथा क्षेत्रगत मनोनयनबाट तीन हजार ३६७, ग्लोबल ट्यालेन्ट स्ट्रीमबाट २६, पारिवारिक सम्बन्धबाट ६७५ र विविध विधामा ६९ नेपालीले पीआर परमिट लिएका छन् ।
पीआर परमिट प्राप्त गर्नेमा ५५.४ प्रतिशत पुरुष छन् भने ४४.६ प्रतिशत महिला रहेको तथ्याङ्कले देखाएको छ ।पीआर परमिट प्राप्त गर्नेअधिकांश नर्स र त्यसपछि डाक्टर, फार्मासिस्ट र अन्य स्वास्थ्य सेवासंग संबन्धित छन् । लेखा, कुकरी (शेफ र कुक सहित), बेकरी, आईटी, र ईन्जिनियर लगायतले स्थायी छन् ।
सन् २०२२/२३ को तथ्याङ्कअनुसार सबैभन्दा बढी दुई हजार ५५८ नर्स र एक हजार २४६ लेखापालले स्थाई बसोवास अनुमति पत्र पाएका छन् । ३ सय २२ सेफ, १ सय ६२ कुक, १ सय ५३ सफ्टवेयर र एप्लिकेसन प्रोग्रामर छन् भने ९९ अभियन्ता, कलाकर्मी, ८६ सूचना प्रविधि व्यवसायी छन् । सिभिल इन्जिनियर, कम्प्युटर नेटवर्किङ, सेफ, कुक, बेकरी र पेस्ट्री कुक क्याफे र रेस्टुरेन्ट म्यानेजर, सफ्टवेयर र एप्लिकेसन प्रोग्रामर, स्ट्रक्चरल स्टिल र बेल्डिङ ट्रेड वर्कर्स, एकाउन्टेन्ट्स, कम्प्युटर नेटवर्क प्रोफेसनल, आईसीटी बिजनेस र सिस्टम एनालिस्ट जनरल प्रैक्टिशनर र रेजिडेन्ट मेडिकल अफिसर लगायत ५४७ ले आवासीय अनुमति पाएका छन् ।
तथ्यांक अनुसार सन् २०१९ मा ५ हजार ४८, सन् २०२० मा ४ जार ७१४, सन् २०२१ मा ६ हजार ६२८ र सन् २०२३ मा १२ हजार ४१ नेपालीले स्थायी बसोवास अनुमति लिएका छन् ।
सन् २०२२ मा अस्ट्रेलियामा स्थायी बसोबास अनुमति प्राप्त गर्ने देशहरूमा बेलायत, चीन, न्युजिल्याण्ड, फिलिपिन्स, भियतनाम, दक्षिण अफ्रिका, मलेसिया, इटाली र नेपाल रहेका छन् । नेपालपछि श्रीलङ्का ११औँ स्थानमा छ भने संयुक्त राज्य अमेरिका, हङकङ, दक्षिण कोरिया, जर्मनी, इराक, पाकिस्तान, इन्डोनेसिया, ग्रीस, थाइल्याण्ड र अफगानिस्तान छन् ।