साउनमा चार अर्ब १९ करोड रुपैयाँको विद्युत् निर्यात



काठमाडौं,भदौ १२ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महीनामा चार अर्ब १९ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ ।

नेपाल विद्युत प्राधिकरणले साउनमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गरी चार अर्ब १९ करोड ३९ लाख २४ हजार रुपैयाँ आम्दानी गरेको छ । साउनमा दैनिकरूपमा १३ करोड ११ लाख रुपैयाँको विद्युत् निर्यात गरिएको हो ।

भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु)मा हुने गरेको छ । त्यसैले साउनमा विद्युत् विक्रीबाट दुई अर्ब ६२ करोड १२ लाख ३ हजार भारु आम्दानी भएको छ । साउनमा निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट ८ रुपैयाँ ५१ पैसा छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आठ वर्षअघिसम्म वर्षायाममा दैनिक ८÷९ घण्टा र सुख्खायाममा १८ घण्टासम्मको लोडसेडिङ बेहोर्नुपर्ने अवस्थाको अन्त्य भई हाल वर्षायामका महीनामा देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत दैनिकरूपमा ७ सय मेगावाटभन्दा बढी निर्यात गर्ने अवस्थामा आइपुगेको बताए । 

प्राकृतिक र प्राविधिक कारणले यदाकदा केही क्षण बत्ती जाने आउने गरेतापनि अहिले मागअनुसार विद्युत् आपूर्ति गर्न नसकेर लोडसेडिङ गर्नुपर्ने अवस्था नरहेको उल्लेख गरे । 

कार्यकारी निर्देशक घिसिङले भने, ‘हाम्रो पहिलो प्राथमिकता देशभित्रको विद्युत् खपत बढाउने नै हो, खपत बढाउन प्रसारण र वितरण प्रणाली सुधार तथा विस्तारका कार्यहरू अभियानकै रूपमा कार्यान्वयनमा लगिएको छ, आन्तरिकृपमा खपत गरी अतिरिक्त भएको विद्युत् छिमेकी देश भारत र बंगलादेशलाई निर्यात गरिने छ ।’

घिसिङले वर्षायाममा भारततर्फ विद्युत निर्यात गरी उल्लेख्य विदेशी मुद्रा आर्जन हुँदा देशको विदेशी मुद्रा सञ्चिति एवम् नेपाल र भारतबीचको व्यापार घाटा कम गर्नमा समेत सकारात्मक योगदान पुगिरहेको उल्लेख गरे । ‘

‘हिउँदयाममा केही महीना अझै विद्युत् आयात गर्नु परेतापनि आयातको परिमाण क्रमशः घट्दै जाने छ, गत आवबाट देशभित्र खपत गरी बढी भएको विद्युत् भारतीय बजारमा विक्री गरी खुद आयातकर्ताबाट खुद निर्यातकर्ता बनिसकेका छौं,’ उनले भने । 

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स)को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् विक्री सम्झौताबमोजिम भारतीय कम्पनी एनटीपीसी विद्युत व्यापार निगम लि–एनभीभीएनलाई विक्री गरिरहेको छ । एनभीएनले उक्त विद्युत् हरियाणा राज्यमा विक्री गरिरहेको छ ।

प्राधिकरणले हालसम्म प्रतिस्पर्धी बजार र मध्यकालीन विद्युत् विक्री सम्झौताबमोजिम भारतीय बजारमा २८ ओटा आयोजनाहरूबाट उत्पादित ९४१ मेगावाट विद्युत् विक्री गर्न स्वीकृति पाएको छ । केही दिनअघि द्विपक्षीय सम्झौताबमोजिम भारतका बिहार र हरियाणा राज्यलाई थप २५१ मेगावाट विद्युत् निर्यात स्वीकृति पाएको थियो । यसमध्ये एनभीभीएनमार्फत हरियाणा राज्यलाई थप दुई जलविद्युत् आयोजनाबाट उत्पादित १२५.८९ मेगावाट विक्री गरिने छ । हाल दुई आयोजनाहरूबाट उत्पादित १०९.६१ मेगावाट विद्युत् हरियाणा राज्यमा विक्री हुँदै आएको छ । 

१० जलविद्युत् आयोजनाबाट उत्पादित १२५ मेगावाट विद्युत् मध्यकालीन सम्झौताबमोजिम पिटिसी, भारतमार्फत बिहार राज्यमा निर्यात हुने छ । बिहारलाई पहिलो पटक र हरियाणालाई थप विद्युत् निर्यातका लागि प्राविधिक प्रक्रिया पूरा गरी छिट्टै निर्यात शुरु गरिने छ ।

हाल १४ आयोजनाबाट उत्पादित ५८०.८९ मेगावाट विद्युत् प्रतिस्पर्धी दरमा आईएक्समा विक्री भइरहेको छ । केही दिनअघि स्वीकृति पाएको परिमाणको विद्युत् निर्यात शुरु भइनसकेकाले हाल आईएक्स र हरियाणालाई गरी दैनिकरूपमा ६९०.५० मेगावाट विद्युत् निर्यात भइरहेको छ । स्वीकृत परिमाणको १० प्रतिशत थप विद्युत् निर्यात गर्न सकिन्छ । त्यसैले हाल दैनिकरूपमा ७ सय मेगावाटभन्दा बढी विद्युत् निर्यात भइरहेको छ ।

गत आवमा भारतबाट १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत् आयात गरिएको थियो । यही अवधिमा १७ अर्ब ६ करोड रुपैयाँको विद्युत् निर्यात गरिएको थियो । गत आवमा आयातभन्दा १३ करोड रुपैयाँ बढीको विद्युत् निर्यात गरी खुद विद्युत् आयातकर्ताबाट नेपाल खुद विद्युत् निर्यातकर्ता बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्