ईयूमा चिनियाँ ईभी गाडीमाथि अतिरिक्त कर लगाउँदा पनि बीवाईडीले टर्कीमा खोल्दैछ कारखाना ?



इस्तानबुल (टर्की),भदौ ११। युरोपेली संघ (ईयू)ले चीनमा निर्मित विद्युतीय सवारीसाधनको आयातमा अस्थायी अतिरिक्त शुल्क लागू गरेको केही दिनपछि बीवाईडी र टर्कीबीच विद्युतीय सवारी साधनको कारखाना खोल्ने सहमति भएको छ ।  

टर्की सरकारका अनुसार, चीनको इलेक्ट्रिकल भेहिकल (ईभी) कम्पनीले देशमा १ अर्ब डलर लगानीमा कार कारखाना निर्माण गर्न सहमत भएको हो । बीवाईडीका प्रमुख कार्यकारी अधिकृत वाङ चुआनफु र टर्कीका उद्योग तथा प्रविधिमन्त्री मेहमत फातिह कासीले इस्तानबुलमा सम्झौतापत्रमा हस्ताक्षरसमेत भइसकेको छ ।

ईयूसँग आवद्ध देशहरूमा चिनियाँ विद्युतीय सवारीसाधनमाथि १७.४ प्रतिशतदेखि ३७.६ प्रतिशतसम्म कर वृद्धि गरिएको छ । यसको उद्देश्य युरोपमा सस्तो चिनियाँ कारहरूको खरीदमा आएको उच्च वृद्धि रोक्नु रहेको अन्तरराष्ट्रिय मिडियाले जनाएका छन् । 

यही रणनीतिलाई बुझेर बीवाईडी टर्कीमा लगानी गर्न सहमत भएको अनुमान गरिएको छ । टर्की ईयूसँग भन्सार संघमा छ । त्यसकारण त्यहाँ उत्पादित सवारी साधन ईयूसँग आवद्ध देशहरूमा ट्यारिफ–फ्री निर्यात गर्न सकिन्छ ।

सम्झौता अनुसार, बीवाईडीले टर्कीमा विद्युतीय सवारीसाधनको कारखानासँगै प्रविधिका लागि अनुसन्धान र विकास केन्द्रसमेत स्थापना गर्नेछ । 

कारखानाबाट सन् २०२६ को अन्त्यसम्ममा विद्युतीय सवारीसाधन उत्पादन शुरु हुने कम्पनीले बताएको छ । साथै देशमा ५ हजारभन्दा बढीलाई रोजगारी प्रदान गर्ने अपेक्षा लिइएको छ । 

बीवाईडीले गत डिसेम्बरमा ईयू सदस्य हंगेरीमा पनि विद्युतीय सवारीसाधनको कारखाना निर्माण गर्ने घोषणा गरेको थियो । सीएनएन

प्रतिक्रिया दिनुहोस्