गोर्खा मिडियामा आएको ऋणको जिम्मा लिनबाट पन्छिए रवि लामिछाने



काठमाडौं,भदौ १० । सहकारी ठगीका अभियुक्त भई हाल फरार गीतेन्द्रबाबु (जीबी) राईको बयानविना आधा दर्जनभन्दा बढी सहकारी संस्थाबाट गोर्खा मिडिया नेटवर्कमा आएको रकमबारे टुंगो लगाउन संसदीय छानबिन समितिलाई अप्ठ्यारो पर्ने देखिएको छ । 

तत्कालीन समयमा मिडियाका प्रबन्ध निर्देशक रहेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितका व्यक्तिले संसदीय विशेष छानबिन समितिमा सहकारीबाट ऋण लिएकोबारे जानकारी नभएको बयान दिएपछि राईको बयानविना लामिछानेको वास्तविक भूमिका के थियो भन्नेमा अन्योल देखिएको हो । 

मिडियाका कार्यकारी अध्यक्षसमेत रहेका राई फरार भएपछि प्रहरीले गत माघ पहिलो साता ‘डिफ्युजन नोटिस’ जारी गरेको थियो । तर, पनि हालसम्म उनलाई पक्राउ गर्न सकेको छैन । 

सहकारीको बचत अपचलनबारे छानबिन गर्न गठित संसदीय समितिले पछिल्लोपटक शुक्रवार लामिछानेसँग सोधपुछ गरेको थियो । सोधपुछका क्रममा लामिछानेले आफू सहकारीको सदस्य नभएको, कुनै ऋण नलिएको र गोर्खा मिडिया नेटवर्कमा आएको रकमको स्रोतबारे आफूलाई जानकारी नभएको बयान दिएका छन् । राईले खोलेका विभिन्न सहकारीको रकम गोरखा मिडिया नेटवर्कमा लगानी भएको र कतिपय सहकारीबाट लामिछानेको नाममा समेत ऋण लिएको देखिएका कारण यो प्रकरणमा लामिछानेको संलग्नताबारे प्रश्न उठको हो । 

समितिका सभापति सूर्यबहादुर थापाका अनुसार लामिछानेले आफू मिडियामा कार्यक्रम उत्पादन र प्रसारणतर्फ मात्र सहभागी भएकाले सहकारीबाट रकम ल्याएर दुरुपयोग गरेकोबारे जानकारी नभएको बयान दिएको बताए । गोर्खा मिडिया नेटवर्कमा प्रबन्ध निर्देशक भए पनि आफू पूँजी जुटाउने काममा संलग्न नरहेको र आवश्यक पूँजी राईले कहाँबाट ल्याए भन्ने कुराको जानकारी नभएको उल्लेख गरेका छन् । 

यस्तै गोर्खा मिडिया नेटवर्कमा १ करोड ८० लाख रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता शेयर लामिछानेले किनेको देखिए पनि उनले त्यो ‘गोल्डेन शेयर’को रूपमा पाएको बताएका छन् । 

समितिले पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी र बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा लामिछाने सदस्य रहेको भन्दै सदस्यता नम्बरसमेत पेश गरे पनि उनले आफू त्यहाँ सदस्य नबनेको कुनै हस्ताक्षर नगरेको दाबी गरे । नक्कली ऋणी खडा गरी आफै ऋण लिने परिपाटी बैंकिङ तथा सहकारी क्षेत्रमा रहँदै आएको छ । 

शुक्रवारै समितिले गोरखा मिडिया नेटवर्कका पूर्वसञ्चालक छविलाल जोशीसँग पनि सोधपुछ गरेको थियो । यसअघि सञ्चालक विपिनकुमार आचार्य र कुमार रम्तेलसँग पनि सोधपुछ गरिसकेको छ । रम्तेल भने सहकारी ठगीको अभियोगमा पूर्पक्षका लागि थुनामा छन् । 

समिति स्रोतका अनुसार काठमाडौंको स्वर्णलक्ष्मी बचत तथा ऋण, चितवनको सहारा, वीरगञ्जको सानो पाइला, पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम बचत तथा ऋण र नेपालगञ्जको समानता बचत तथा ऋण सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा प्रयोग भएको छ । 

समितिले बयान लिएका व्यक्तिहरूले भने सबै कारोबार राईको निर्देशनमा भएको बताएका छन् । समितिले राईलाई उपस्थित गराउन सरकारलाई निर्देशन दिए पनि हालसम्म पक्राउ गर्न सकेको छैन । साउन २२ गते बसेको संसदीय छानबिन समितिको बैठकमा थापाले राई मलेशियाबाट नेपाल फर्किएको विवरण भेटिएको तर नेपालबाट बाहिरिएको विवरण नभेटिएको जानकारी दिएका थिए । उनले आर्थिक अभियानलाई बताएअनुसार राई नेपालबाट हवाईमार्ग हुँदै बाहिरिएको पाइएको छैन । 

असार पहिलो साता तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राई मलेसियामा रहेको पत्ता लागेको र उनलाई नेपाल ल्याउन पहल भइरहेको बताएका थिए । तर, राई पक्राउ नपर्दै लामिछाने सरकारबाट बाहिरिइसकेका छन् । 

सहकारीको बचत अपचलनमा राईसँगै लामिछानेको नाम पनि जोडिएको छ । राईले खोलेका विभिन्न सहकारीको रकम उनी आफै अध्यक्ष रहेको गोरखा मिडिया नेटवर्कमा लगानी भएको र कतिपय सहकारीबाट लामिछानेको नाममा समेत ऋण झिकिएको पाइएको छ ।

लामिछाने तत्कालीन समयमा उक्त मिडियाको प्रबन्ध निर्देशक थिए । सहकारीको बचत रकम दुरुपयोगमा लामिछानेको नाम जोडिएपछि छानबिन गर्न जेठ १५ गते संसदीय समिति गठन भएको हो । समितिलाई समस्याग्रस्त घोषणा भएका २० बाहेक अन्य नौओटा संस्थाको छानबिन गर्ने कार्यादेश छ । त्यसमध्ये काठमाडौंको स्वर्णलक्ष्मी बचत तथा ऋण, चितवनको सहारा, वीरगञ्जको सानो पाइला, पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम बचत तथा ऋण, नेपालगञ्जको समानता बचत तथा ऋण गरी ६ ओटा सहकारी राई र गोर्खा मिडिया नेटवर्कसँग जोडिएका छन् ।

प्रतिक्रिया दिनुहोस्