देशभर सवारी दुर्घटनामा १ जनाको मृत्यु, १५ घाइते
काठमाडौं,भदौ १० । देशका विभिन्न स्थानमा आइतवार भएका सवारी दुर्घटनामा १ जनाको ज्यान गएको छ भने १५ जना घाइते भएका छन् ।
वडाअध्यक्ष यादवको निधन
आइतबार भएको सवारी दुर्घटनामा महोत्तरीको रामगोपालपुर नगरपालिका–२ का वडाअध्यक्ष मुकेशकुमार यादवको निधन भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष यादवको मोटरसाइकल दुर्घटनामा आइतबार बिहान मृत्यु भएको हो ।
जलेश्वर–बर्दिबास सडकअन्तर्गत बर्दिबास नगरपालिका–८ स्थित कल्भर्टमा वडाअध्यक्ष यादव चढेको लु प्र ०१–००१प ६३६२ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो । वडाध्यक्ष यादवको शव कल्भर्टसँगै भेटिएको हो ।
वडाध्यक्ष यादव नेपाल कम्प्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट निर्वाचित भएका थिए ।
यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते
नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउनेमा यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।
महेन्द्रनगरबाट काठमाडौंतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस दुर्घटना हुँदा उनीहरू घाइते भएका हुन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए । घाइते सबैको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
नागार्जुन दुर्घटनामा युवकको गयो ज्यान
काठमाडौंको नागार्जुन नगरपालिका–७ स्थित बिन्दावासिनी सडकखण्डमा गत शनिवार भएको दुर्घटनामा परेका युवकको आज मृत्यु भएको छ ।
स्वीजरल्याण्ड पार्कबाट कलङ्कीतर्फ आउँदै गरेको प्र ०१–०२५च ९२४३ नम्बरको जिपमा विपरीत दिशाबाट गइरहेको बा प्र०२–०१७प १०९ नम्बरको मोटरसाइकल ठक्कर खाँदा दुर्घटना भएको थियो ।
दुर्घटनामा परी दोलखा शैलुङ्गेश्वर नगरपालिका–६ घर भई हाल काठमाडौं महानगरपालिका–१३ छाउनी बस्ने २० वर्षीय सजन सुवेदीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
शनिबार दुर्घटना भई गम्भीर घाइते भएका सुवेदीको कलङ्कीस्थित सहिद मेमोरियल अस्पतालमा उपचार भइरहेको थियो । सो समयमा फरार रहेका गाडी चालक सुनसरी घर भई हाल काठमाडौंको नैकाप बस्ने ४३ वर्षीय जगतबहादुर मगरलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सुनकोसीमा खसेको गाडी भेटियो, नदीमा बेपत्ता तीनजनाको खोजी जारी
शनिवार साँझ सुनकोसी नदीमा खसेर बेपत्ता भएको गाडी आइतबार बिहान २ बजे भेटिएको छ । खोटाङको हलेसीबाट भक्तपुर जाने क्रममा सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुँडुलेस्थित मध्यपहाडी लोकमार्गबाट नदीमा खसेको प्रदेश ३–०१–०२३ च ६३६६ नंको हाइलक्स गाडी भेटिएको हो ।
सशस्त्र प्रहरीको गोताखोर टोलीले नदीको धमिलो बहावमा डुबेको गाडी जेसिभीको सहायतामा झिकेर नदी किनारमा राखेको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए । आइतबार बिहान घटनास्थलमा पुगेका प्रहरी उपरीक्षक काफ्लेका अनुसार गाडी घटनास्थलबाट ५० मिटर तलबाट झिके पनि गाडीमा सवार चालकसहित तीनजना अझै बेपत्ता छन् ।
बेपत्ता हुनेहरूमा भक्तपुरको जगातीका ३२ वर्षीय अबिन बके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा छन् । उनीहरूको खोजी गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरीको गोताखोर टोली र स्थानीय नागरिक खटिएका छन् । गाडीमा चारजना सवार थिए ।
हाम फालेर बाँच्न सफल घाइते भक्तपुरको जगातीका २७ वर्षीय सुशान्त कक्षपतीको सुनकोसी सामुदायिक अस्पताल, खुर्कोटमा उपचारपछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ । राससको सहयोगमा