ईभी र विद्युतीय सामानको आयात बढ्यो



काठमाडौं,भदौ १० । दशैं, तिहारजस्ता चाडपर्व नजिकिँदै गर्दा विद्युतीय गाडी (ईभी) तथा उपकरणहरूको आयात बढेको छ । भन्सार विभागले शुक्रवार सार्वजनिक गरेको चालू आर्थिक वर्षको साउनको आयातनिर्यात तथ्यांकअनुसार ईभी, स्मार्टफोन, ल्यापटप तथा नोटबुक र ट्याबलेटको आयात बढेको हो ।

दशैं, तिहारलाई लक्ष्य गर्दै नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले भदौ ११ देखि काठमाडौंमा ‘नाडा अटो सो २०२४’ आयोजना गर्दैछ । नेपालमा अटो व्यवसायको ‘कुम्भमेला’ भनिने यो प्रदर्शनीलाई लक्ष्य गरी विभिन्न प्यासेन्जर ईभीको आयात बढेको देखिन्छ ।

चालू आर्थिक वर्ष (आव)को पहिलो महीना साउनमा प्यासेन्जर ईभीको आयात पोहोर साउनको तुलनामा करीब साढे २ गुणाले बढेको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनमा ८९ करोड ७० लाख २० हजार रुपैयाँ बराबरको ३८१ विद्युतीय कार, जिप र भ्यान आयात भएको छ । पोहोर साउनमा ३४ करोड ६१ लाख रुपैयाँ मूल्यका १०७ थान विद्युतीय कार, जिप र भ्यान भित्रिएका थिए ।

गत महीना आयात भएका ३८१ थान प्यासेन्जर ईभीमध्ये २०२ ओटा चीनबाट आएका छन्, जसको मूल्य ५६ करोड ८६ लाख ६० हजार रुपैयाँ बराबर छ । यस्तै १७८ थान इभी भारत र १ थान जर्मनीबाट आयात भएको विभागको तथ्यांकले देखाउँछ । सो अवधिमा ५० किलोवाट र ५१ देखि १०० किलोवाटसम्मका ईभी आयात भएका छन् ।

गत महीना भित्रिएका प्यासेन्जर ईभीमध्ये १६१ ओटा ५० किलोवाटसम्मका, २१६ ओटा ५१ देखि १०० किलोवाटसम्मका, एउटा २०० किलोवाटको, दुईओटा २०१ देखि ३०० किलोवाटसम्मका र बाँकी एउटा ३०० किलोवाटभन्दा माथिको छ ।

गत आवमा २९ अर्ब ४८ करोड मूल्यको ११ हजार ७०१ थान विद्युतीय सवारीसाधन भित्रिएका छन्, जसबाट १३ अर्ब २८ करोड रुपैयाँ राजस्व संकलन भएको छ । यस वर्षको नाडा अटो सोमा पनि ईभी आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ । मेला काठमाडौंको भृकुटीमण्डपमा यही भदौ ११ गतेदेखि १६ गतेसम्म चल्ने एशोसिएशनले जनाएको छ ।

स्मार्टफोन र ल्यापटपको आयात पनि बढ्यो

विभागको तथ्यांकअनुसार गत साउनमा ९६ करोड ३२ लाख ३५ हजार रुपैयाँ बराबरको १४ हजार १८० थान ल्यापटप तथा नोटबुक आयात भएको छ । यो आयात अघिल्लो आवको सोही अवधिको तुलनामा मूल्यका हिसाबमा २० करोड ३९ लाख ३७ हजार रुपैयाँले बढी हो । गत आवको यस अवधिमा ७५ करोड ९२ लाख ९८ हजार रुपैयाँ बराबरको ११ हजार ७१७ थान ल्यापटप र नोटबुक आयात भएको थियो ।

चालू आवको पहिलो महीनामा ३ अर्ब ४६ करोड ६३ लाख ५८ हजार रुपैयाँको २ लाख २५ हजार १६३ थान स्मार्टफोन आयात भएको छ । गत आवको यस अवधिमा २ अर्ब ८६ करोड ८८ लाख ८४ हजार रुपैयाँ मूल्यका १ लाख ७९ हजार ९९७ थान स्मार्टफोन आयात भएको तथ्यांक छ ।

पछिल्लो समय अडियो/भिडियो कल गर्न, फेसबुक, टिकटकजस्ता सामाजिक सञ्जाल चलाउन, भिडियो कन्फ्रेन्सिङ, अनलाइन कक्षाजस्ता गतिविधि गर्न यस्ता उपकरणको माग दिनदिनै बढ्दो क्रममा रहेको व्यवसायी बताउँछन् । ठूला चाडपर्वअगाडि यस्ता विद्युतीय सामानको खरीदविक्री बढ्ने गर्छ ।

मोबाइल फोन इम्पोर्टर्स एशोसिएशनका सचिवालय अध्यक्ष कैलाश प्रधानले पछिल्लो समय विशेष गरी ठूलो स्क्रिन भएका फोनमा ग्राहकको रुचि बढिरहेको बताए । उनका अनुसार ह्याङ नहुने र लामो समय नतात्ने स्मार्टफोनको माग बढ्दो छ । ‘अहिले मानिशहरूले हरेक काम स्मार्टफोनबाटै गर्ने गरेका छन् । खानेपानी तथा बिजुलीको बिल तिर्ने, बैंकिङ कारोबार, कुनै सामान खरीद गर्दा भुक्तानी जस्ता काम गर्नुपर्ने भएकाले उपभोक्ताको आकर्षण यस्ता फोनमा बढी छ,’ प्रधानले भने ।

मोबाइलमा भिडियो हेर्ने, गेम खेल्ने र मल्टिमिडिया प्रयोग गर्नेहरू उत्तिकै छन् । राम्रो गुणस्तरको फोटो/भिडियो खिच्ने फोन किन्नुपर्ने आम मानसिकता बनेको व्यवसायी बताउँछन् ।चालू आवको यस अवधिमा ६ करोड ५४ लाख ११ हजार रुपैयाँको ३ हजार १३४ थान ट्याबलेट आयात भएका छन् । गत आवको उक्त अवधिमा ३ करोड १८ लाख १८ हजार रुपैयाँ बराबरको ट्याबलेट आयात भएको थियो ।

चाडपर्व नजिकिँदा अन्य समयको भन्दा व्यापार पनि बढ्ने गरेको व्यवसायी बताउँछन् । वर्षभरि सबैभन्दा धेरै व्यापार दशैं, तिहारजस्ता ठूला चाडपर्वमा हुने गरेको हिमालय सीमापार वाणिज्य संघका महासचिव रामचन्द्र पराजुली बताउँछन् । उनका अनुसार यसबेला अघिपछिको भन्दा ५० प्रतिशतसम्मले व्यापार बढ्ने गर्छ ।

स्मार्टवाच र विद्युतीय चूल्होको आयात घट्यो

यस अवधिमा स्मार्टवाच र विद्युतीय चूल्होको आयात भने घटेको छ । गत आव २०८०/८१ को पहिलो महीनामा २ करोड ७९ लाख ६५ हजार रुपैयाँको १७ हजार ९९७ थान स्मार्टवाच आयात भएकोमा चालू आवको सोही अवधिमा २ करोड ४३ लाख ६८ हजार रुपैयाँ मूल्यको ५ हजार ७७३ थान मात्र स्मार्टवाच आयात भएको तथ्यांक छ ।त्यसैगरी राइसकुकर, माइक्रोवेभ ओभन, इन्डक्सन चूल्होलगायत विद्युतीय माध्यमबाट खाना पकाउन प्रयोग गरिने चूल्होको आयात पनि घटेको छ ।

चालू आवको पहिलो महीनामा ९ करोड १३ लाख ४४ हजार रुपैयाँको ४८ हजार २७१ थान विद्युतीय चुलोको आयात भएको देखिन्छ । गत आवको सोही अवधिमा ११ करोड ५७ लाख १७ हजार रुपैयाँ बराबरको यस्ता वस्तु आयात भएको तथ्यांकले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्