चालु आवको पहिलो महीनामा रु तीन अर्ब ४६ करोड ६३ लाख बराबरको ‘स्मार्टफोन’ आयात
काठमाडौँ,भदौ ९ । नेपालमा गत एक महीनामा मात्रै तीन अर्ब ४६ करोड ६३ लाख नेपाली रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
नेपालले बढी आयात गर्ने वस्तुहरूमा पेट्रोलियम पदार्थ, फलामजन्य वस्तु, स्मार्टफोन, कच्चा सूर्यमुखी तेललगायत छन् । गत एक महीनामा मात्र नेपालले रु छ अर्ब ९८ करोड ७१ लाख बराबरको डिजेल, रु पाँच अर्ब ६९ करोड ३५ लाख बराबरको पेट्रोल र रु चार अर्ब ८२ करोड ६६ लाख बराबरको खाना पकाउने ग्यास आयात भएको छ ।
विभागका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलना चालु आवको पहिलो महीनामा आयात शून्य दशमलव ६७ प्रतिशतले घटेको छ भने निर्यात नौ दशमलव ६३ प्रतिशतले घटेको छ । गत साउन महीनामा नेपालले भारतसँग मात्र रु ७० अर्ब १० करोड ४२ लाख बराबरको व्यापार घाटा व्यहोरेको विभागले जनाएको छ । कतार, युक्रेन, अस्ट्रेलिया, बहराईन, मलेसियालगायतका मुलुकसँग पनि नेपालको व्यापार घाटा उच्च छ ।
विभागको चालु आवको पहिलो महीनाको वैदेशिक व्यापारसम्बन्धी तथ्यांक अनुसार गत साउनमा नेपालले रु एक खर्ब २८ अर्ब ३७ करोड ७१ लाख बराबरको वस्तु आयात गर्दा रु १२ अर्ब २२ करोड ६१ लाखको मात्रै निर्यात गरेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महीना नेपालले कुल रु एक खर्ब ४० अर्ब ६० करोड ३२ लाख बराबरको वैदेशिक व्यापार गर्दा रु एक खर्ब १६ अर्ब १५ करोडको घाटा व्यहोरेको छ ।
गत साउनमा नेपालले रु एक अर्ब ११ करोड ७५ लाख बराबरको कार्पेट निर्यात गरेको छ । नेपालले बढी निर्यात गरेका वस्तुहरूमा भने कार्पेट, चिया, स्टिल, धागो लगायत छन् । चालु आवको पहिलो महीना भारतबाट रु ७७ अर्ब ६८ करोड ३१ लाख बराबरको आयात हुँदा रु सात अर्ब ५७ करोड ८८ लाखको निर्यात भएको छ । नेपालले दोस्रो ठूलो वैदेशिक व्यापार गर्ने अर्को छिमेकी मुलुक चीनसँग यस अवधिको व्यापार घाटा रु २४ अर्ब ३८ करोड ४७ लाख बराबर छ ।
गत साउनमा चीनबाट रु २४ अर्ब ५४ करोड २३ लाखको आयात हुँदा रु १५ करोड ७६ लाख बराबरको मात्रै निर्यात भएको हो । चालु आवको पहिलो महीनामा नेपालले वैदेशिक व्यापार गरेका मुलुकहरू मध्ये १३ मुलुकसँग भने व्यापार नाफा छ । सबैभन्दा धेरै संयुक्त अधिराज्यसँग रु १८ करोड ३४ लाख ६६ हजार बराबर व्यापार नाफा देखिएको हो । रासस