सामाजिक सञ्जाल नियमन गर्ने कानुन बन्ने
काठमाडौ,भदौ ८ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जालहरूको सञ्चालन, प्रयोग र नियमन गर्ने कानुन तयार भइरहेको बताएका छन् । उनले डिजिटल अर्थतन्त्रले देशको कुल गार्हस्थ उत्पादन (जिडिपी) मा ३ प्रतिशत योगदान गर्ने गरी सरकारले काम गरिरहेको जानकारी दिए ।
अब चाँडै अर्थ मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सहमति लिएर संसद्मा पेस गरिने बताउँदै उनले यसै वर्ष कानुन निर्माणसम्बन्धी काम पूरा हुने स्पष्ट पारे। मन्त्री गुरुङले शक्रबार राजधानीमा गुरुङ सम्पदा पदमार्गको शुभारम्भ तथा नक्सा सार्वजनिक गर्दै सो जानकारी दिएका हुन् । उनले यस पदमार्गको शुभारम्भले मुलुकको पर्यटन विकासमा मद्दत पुग्ने विश्वास व्यक्त गरे । उनले भने, “मुलुकको हितका लागि समर्पित भएर ‘गुड फेथ’ का साथ काम गर्ने प्रयत्न गरिरहेका छौँ । यस कार्यमा सञ्चारकर्मीलगायत सबैको साथ समर्थन चाहिन्छ ।”
मुलुकमा साइबर सुरक्षासम्बन्धी ठुल्ठूला समस्या रहेको बताउँदै उनले सूचना प्रविधि कानुनसँग ‘मर्ज’ गरेर साइबर सुरक्षासम्बन्धी कानुन ल्याउन लागिएको जानकारी दिए । त्यसै गरी नेपाल टेलिकम, दूरसञ्चार प्राधिकरणसँग सम्बन्धित कानुन बनाउनुपर्ने आवश्यकता औँल्याए ।
नेपाल टेलिकमको गुणस्तर र ‘कभरेज’ बारे समेत धेरै प्रश्न उठेको उल्लेख गर्दै सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले नेपाल टेलिकमको ‘कभरेज’ बढाउने र गुणस्तर निर्माण गर्ने आफ्नो प्राथमिकता रहेको बताए ।
उनले भने, “नियमन गर्न नसक्दा दूरसञ्चार प्राधिकरणमा भद्रगोल र अराजकता छ, टेलिकम सेवाप्रदायक संस्थाहरू दुषित प्रतिस्पर्धा गर्छन् । अलिकति तलमाथि प¥यो भने मुद्दा हालिहाल्छन्, काम गर्नै दिँदैनन् । १५२ वटा टावर बनाउन बोलपत्र आह्वान गरिएकोमा मुद्दा हालेर त्यो बन्न दिएनन् ।”