मासियो काभ्रेको पितृ नचाउने थलो
काभ्रे,भदौ ७ । माझी समुदायका पितृ नचाउने ठाउँ मासिएको छ । काभ्रेपलाञ्चोक जिल्लाको भुम्लुका माझीले हरेक वर्ष दसैँको टीकाको अघिल्लो दिनदेखि टीकाको पर्सिपल्टसम्म पितृ नचाउने गर्छन् । ठाँटीडाँडामा रहेको सो स्थानमा सिँचाइका लागि पोखरी खनिएपछि उनीहरूको सांस्कृतिक कर्ममा समस्या भएको छ ।
भुम्लु गाउँपालिका–६, कोलाँती भुम्लु तल्लो गाउँका माझी आफ्नो ऐतिहासिक धरोहर गुमेकोमा चिन्तित छन् । कोही नयाँ मान्छे देख्नेबित्तिकै उनीहरूको गुनासो ठाँटीडाँडा चौर मासिएर पोखरीको खाल्डो खनेकामा नै हुने गरेको छ ।
स्थानीय पुरुषोत्तम माझी पुर्खाहरूकै पालादेखि ठाँटीडाँडामा पितृ नचाउँदै आएको बताउछन । ठाँटीडाँडामा पोखरी निर्माण भएपछि भने आफूहरूलाई पितृ नचाउने ठाउँको अभाव खड्किएको उनले बताए ।
पितृ नचाउने भनेको माझी जातिको मृत्यु संस्कार हो । मृत व्यक्तिको सम्झनामा हरेक वर्ष नवमीको दिनदेखि टीकाको भोलिपल्टसम्म पितृ नचाइने गरेको छ । सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकमा दसैँ टीकामा हुने यो कार्य अरू जिल्लामा भने सोह्रश्राद्धको समयमा गरिन्छ ।
पहिलो दिन पितृ बोलाउने, दोस्रो दिन नचाइने र तेस्रो दिन खोलामा बगाइने प्रचलन छ । यी तीन दिनलाई ‘पितृ नचाउने’ भनिन्छ । पितृ नाच्ने ठाउँ नै मासिएपछि माझी समुदायमाथि गाउँपालिकाले नै सांस्कृतिक थिचोमिचो गरेको महसुस उनीहरूले गरिरहेका छन् ।
खोलामा पुल बनेपछि डुङ्गा तार्ने पेसा सङ्कटमा परेको बुझेका माझीहरू खोलामा क्रसर बनेर आफ्नो अधिकार क्रमशः खोसिएको बताउन थालेका छन् । त्यस्तै अनावश्यक योजनाले आफ्नो ऐतिहासिक थलो मासिएको चिन्ता उनीहरूलाई छ ।
सो ठाउँमा कहिलेदेखि पितृ नाच्न थालेको भन्ने उनीहरूलाई नै थाहा छैन । परापूर्वकालदेखि सो स्थानमा सो ‘पितृ नाच्ने’ गरिएको इतिहास छ । स्थानीय माझी समुदायको परम्परादेखि पितृ नचाउन प्रयोग गर्दै आएको भूमिमा गाउँपालिकाले आकासेपानी जम्मा गर्न पोखरी खनेको हो तर त्यो अहिले पनि अलपत्र छ । आर्थिक वर्ष २०७६/७७ मा दुई लाख रुपियाँको परियोजनाले माझी समुदायको सांस्कृतिक धरोहर मासिँदा स्थानीय निराश बनेका छन् । कोलाँती भुम्लु तल्लो माझीगाउँमा वर्षौंदेखि माझीहरू बस्दै आएका छन् । हाल त्यहाँ ३१ घरधुरी माझी छन् । प्रायः युवा वर्गले शिक्षा, रोजगारी र अन्य कारणवश गाउँ छाडेका छन् तर चाडपर्व मनाउन भने सबै गाउँमा नै आउने गर्छन् ।
स्थानीय माझी अगुवा सावित्री माझीको संयोजकत्वमा पोखरी पुर्न सङ्घर्ष समितिसमेत गठन भएको छ । राज्यले लगानी गरेको ठाउँमा पुर्दा कानुनी कारबाही हुन सक्ने भएकाले प्रशासन, मानव अधिकारसम्बन्धी संस्थालाई जानकारी गराउने संयोजक सावित्रीले बताए ।
केही वर्षयता भने आफूहरूलाई पितृ नचाउने ठाउँको अभाव भएकोमा उहाँलाई निक्कै चिन्ताले सताएको छ । माझी समुदायमा पितृ नचाउने कार्यले निकै ठुलो महत्व राख्ने उनले बताए । यो विषयलाई लिएर गाउँपालिकासम्म पुगे पनि समस्या समाधान नभएको उनको गुनासो छ ।
माझी समुदायलाई पूर्वजानकारी नगराई आफूहरूले पुर्खादेखि भोगचलन गर्दै आएको सांस्कृतिक भूमिमा पोखरी खनेर अलपत्र पार्नु उचित नभएको नेपाल माझी उत्थान सङ्घको केन्द्रीय अध्यक्ष चिनीमाया माझीले बताए ।
सो वडाका वडाध्यक्ष भरतबहादुर शिवभक्ति भने माझी समुदायको सहमतिमा नै पोखरी खनिएको दाबी गर्छन । उनले आफूसँग सो समयको सबै म्याइन्युट रहेको र सो गाउँमा बस्ने सबै समुदायले हस्ताक्षर गरेको बताए । “मैले माझीको ऐतिहासिक पितृ नाच्ने ठाउँ मासेर के पाउँछु र ? उनीहरूले पोखरी बनाउने प्रस्ताव ल्याएपछि योजना बनाएको हुँ,” उनले स्पष्ट पारे।
भुम्लु गाउँपालिकाका अध्यक्ष प्रेम भुजेलले पोखरी खनिएकोबारे माझी समुदायबाट त्यस्तो गुनासो नआएको दाबी गरे । उमले के भएको रहेछ भनेर जानकारी लिने बताए । गोरखापत्रबाट