काँठेमा लट्ठिँदै सरोज



काठमाडौ,भदौ ७ । लोकभाकामा ख्याति कमाएका सरोज लामिछाने गायन र सङ्गीत सिर्जनामा मात्रै होइन अभिनयमा समेत उत्तिकै लोकप्रिय छन् । गायक तथा सङ्गीतकार लामिछाने आफ्नो गीतमा प्रायः आफैँ नै अभिनय गर्छन् । 

बदाम खाको, सुन्तला छोडाको

के छ खबर पुरानो जोडाको

चर्चित यो काँठेभाका खास गरी काँठ क्षेत्रमा मात्र होइन सबैतिर उत्तिकै रुचाइने गीत हो । सिन्धुपाल्चोक मेलम्चीका सरोज लामिछानेले करिब दुई सयभन्दा बढी काँठेभाका गाइसकेका छन् । उनका गीत टिकटक र रिल जस्ता सोसल मिडियामा समेत भाइरल बन्ने गरेका छन् ।  

जब तिम्रो याद आउन थाल्छ मुसौरी

भाइरल ज्वरो एक सय चार आइहाल्छ

‘नरुनु है ए आमा’ गीतबाट गायन थालेका सरोजका धानको बाला, बदाम खाको, सुन जस्तो पित्तल, हे मेरो सानु, कोठा भाडा तिर्दिनी मैले हो, मुसौरी, दुई खोली दोभान, खोली तरेको, मुड आयो लगायत दर्जनौँ गीत लोकप्रिय छन् । सामाजिक कथावस्तु, जनजीवनका व्यथा, निश्चल माया प्रेमकथा सरोजका गीतका विशेषता हुन् । त्यसैले पनि मेला, जात्रा, महोत्सव, पर्व, बिहे, व्रतबन्ध जस्ता उत्सवमा सरोजका गीतले स्थान पाउने गर्छन् ।  

प्रतिक्रिया दिनुहोस्