राम्रा कम्पनीको शेयरमूल्य अझै कम छ : सांसद ढकाल



काठमाडौं,भदौ ७ । सांसद हरि ढकालले राम्रा कम्पनीहरूको शेयरको मूल्य अझै धेरै सस्तो रहेको बताएका छन् । बिहीवार सामाजिक सञ्जालमार्फत उनले आम सर्वसाधारण लगानीकर्ताले पाँच वर्षअगाडि किनेको शेयरको मूल्यभन्दा धेरै कम्पनीको शेयर मूल्य तल रहेकाले अहिले आत्तिनुपर्ने अवस्था नरहेको बताएका हुन् । 

बजारको पूँजीकरण र देशको जीडीपीलाई लिएर भइरहेको टीकाटिप्पणी पनि पूरै अप्रासांगिक रहेको सांसद ढकालको टिप्पणी छ । हाम्रो बजारमा दैनिक कारोबारयोग्य शेयरको मूल्यको आधारमा हिसाब गर्दा झण्डै १७ खर्ब मात्र बजार पूँजीकरण रहेको सांसद ढकाल बताउँछन् ।

उनले पछिल्लो समय नीतिगत तहमा बसेर काम गर्ने सांसदहरूले पूँजीबजारका सम्बन्धमा गरेका टीकाटिप्पणीको खण्डन गरेका छन् । सांसदहरूले शेयर बजारका कम्पनीको शेयर मूल्य  तोक्ने, असल वा खराब कम्पनी छुट्याउने, बजारका लगानीकर्ताको नाम तोकेर टिप्पणी गर्ने र बजारलाई प्रभावित पार्ने गरी अभिव्यक्ति दिने काम गर्नु बिल्कुलै उचित नरहेको उनको भनाइ छ । 

‘हामीले ऐन नियम बनाउने र त्यसको कार्यान्वयनबारे सरोकार मात्र राख्ने हो,’ उनले लेखेका छन्, ‘केही सांसदबाट भएको अनुपयुक्त वक्तव्यबाजीप्रति खेद व्यक्त गर्दछु ।’ 
बजारमा भइरहेको सर्वसाधारणको लगानीलाई जोखिममा पार्ने गैरकानूनी गतिविधिहरू नियन्त्रण गर्न सरकार र नियमनकारी निकायहरु पनि उत्तिकै चनाखो हुनुपर्नेमा सांसद ढकालले जोड दिएका छन् । 

सरकारले पूँजी बजारको विकास र विस्तारका लागि धेरै कामहरू गर्नेतर्फ सक्रियता नदेखाएकाले अपेक्षाकृतरूपमा बजारको स्थायित्व कायम हुन नसकेकाले तत्काल त्यतातिर ध्यान दिनसमेत सांसद ढकालले आग्रह गरेका छन् । खासगरी लामो समयदेखि धितोपत्र बोर्डको अध्यक्ष रिक्त रहँदा कयौं कामहरू अवरुद्ध रही बजारको नियमनमै बाधा परेको ढकालको ठम्याइ छ । तत्काल कुनै स्वार्थ समूहबाट प्रभावित नभएको सक्षम, योग्य र स्वच्छ ब्यक्ति नियुक्त गर्नसमेत ढकालले माग गरेका छन् ।

नेपालको पूँजी बजारमा ६३ लाखभन्दा बढी सर्वसाधारणको प्रत्यक्ष संलग्नता रहेको अवस्थामा आफू तिनै आम सर्वसाधारण लगानीकर्ताको सदिच्छाले सांसद भएको समेत सांसद ढकालले उल्लेख गरेका छन् । पृष्ठभूमिमा उभिएर सधैं आम सर्वसाधारण लगानीकर्ताको हित र पूँजी बजारको विकास र विस्तारका लागि लडिरहने प्रणसमेत उनले गरेका छन् । कसैको बहकाउमा नपरी जोखिमको अवस्था विचार गरेर आफ्नै अध्ययन, विश्लेषण र निर्णयले लगानी गर्न उनले सबैलाई आग्रह गरेका छन् ।

सांसद हुनुअघि ढकालले पूँजीबजारमै लगानीकर्ताको रूपमा सक्रिय थिए । पूँजीबजारको विकास र विस्तारको लागि नीतिगत दबाब दिन उनी सधैं अग्रपंतिमा उभिन्थे । उनले २०७५ सालमा पूँजीबजार विकास र विस्तारका लागि विभिन्न माग राख्दै रिले अनसनदेखि आमरण अनसनसमेत बसेका थिए । 

अहिले नीति निर्माण तहमै आफ्नो हिस्सा जमाएका सांसद ढकालप्रति आम लगानीकर्ताले ठूलो अपेक्षा राखेका छन् । उनी संसदमा समेत पूँजीबजारका विषयमा आवाज उठाइरहन्छन् । लाखौ लगानीकर्ताको लगानी सुरक्षित हुने र सरकारको समेत आम्दानी बढी अर्थतन्त्रमा सहयोग पुग्ने गरी पूँजीबजारको विकासका लागि ध्यान दिन उनले संसदमा समेत विभिन्न समयमा आवाज उठाउँदै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्