एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयनको एक वर्ष : के–के भए उपलब्धि ?



काठमाडौं,भदौ ७ । अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट कार्यान्वयनको एक वर्षमा अपेक्षाकृत उपलब्धि भएको जनाइएको छ ।

एमसीसी नेपालका अनुसार पछिल्लो एक वर्षमा १८ किलोमिटर लामो सीमापार विद्युत् प्रसारण लाइनका लागि ठेकेदार छनोट भएको जनाएको छ । 

सो अवधिमा तीनओटा सबस्टेशनका लागि ठेक्का सम्झौता सम्पन्न भएको छ । गत वैशाख २७ गते नयाँ बुटवल (नवलपरासी पश्चिम)मा सबस्टेशन निर्माणका लागि सम्झौता गरिएको थियो । यस्तै, गत असार १ गते रातमाटे (नुवाकोट)मा सबस्टेशन निर्माणका लागि र गत साउन १६ गते नयाँ दमौली (तनहुँ)मा सबस्टेशन निर्माणका लागि सम्झौता भएको एमसीसी नेपालले जनाएको छ । 

यस्तै निर्माणस्थलमा पहुँच र जीविकोपार्जन पुनःस्थापनाअन्तर्गत १० जिल्लामा ८५६ वटा प्रसारण टावरका जग निर्माणका लागि जग्गाप्राप्तिमा प्रगति भएको र दुईवर्षे जीविकोपार्जन पुनःस्थापना कार्यक्रममार्फत दुई सय ७० जनालाई तालिम प्रदान गरिएको उपलब्धिमा समेटिएको छ । 

यसैगरी, जग्गाको मुआब्जा निर्धारण गर्न नौ जिल्लामा मुआब्जा निर्धारण समिति गठन भएको तथा धादिङ, मकवानपुर र नवलपरासीपश्चिम गरी तीन जिल्लामा जग्गाको मुआब्जा निर्धारण गरिएको छ । नौ जिल्लामा पहिलो चरणको रुख गणना कार्य सम्पन्न भएको छ ।

एमसीसीले यस वर्ष २९७ किलोमिटर प्रशारण लाइनका लागि पुनः बोलपत्र आह्वान गरिन लागेको जनाएको छ । यस्तै, धानखोलादेखि लमहीसम्म फूल डेप्थ रिक्लेसेसन (एफडीआर) प्रविधि प्रयोग गर्न ४० किलोमिटर लामो सडक खण्ड निर्माणका लागि यही वर्ष बोलपत्र आह्वान गरिने भएको छ । 

प्रतिक्रिया दिनुहोस्