वीरगञ्ज नाकाबाट भित्रियो १७ थरी पेट्रोलियम- डिजेल, हवाई इन्धन र ग्यास घट्दा पेट्रोल बढ्यो
वीरगञ्ज,भदौ ७ । नेपालले १७ प्रकारका पेट्रोलियम पदार्थको आयात गर्दै आएको छ । इन्धन भित्रिने मुख्य नाका वीरगञ्जबाट यी पेट्रोलियम पदार्थ आएको हो । यो नाकाबाट चालू आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो महीना साउनमा सबैभन्दा बढी डिजेल आयात भएको छ । ५ अर्ब २७ करोड रुपैयाँको ५ करोड ५० लाख लीटर डिजेल भित्रिएको तथ्यांक वीरगञ्ज आईसीपी भन्सारको बेबसाइटमा राखिएको छ ।
डिजेल आयातको यो परिमाण अघिल्लो आव २०८०/८१ को साउनको तुलनामा ६ प्रतिशत कम हो । आयातको दोस्रो स्थानमा रहेको पेट्रोलको परिमाण भने गतवर्षको साउनको तुलनामा ९ प्रतिशतले बढेको छ ।
साउनमा तीन करोड ५० लाख लीटर पेट्रोल आयात हुँदा त्यसका लागि ३ अर्ब ३४ करोड रुपैयाँ बाहिरिएको भन्सारका अधिकृत रामचन्द्र ढकाल बताउँछन् । घरायसी खपतमा विद्युत्को प्रयोग बढेसँगै खाना पकाउन प्रयोग हुने ग्यासको आयात घटेको छ ।
यसैगरी साउनमा दुई अर्ब ५६ करोड रुपैयाँको २ करोड ४० लाख किलोग्राम ग्यास आएको भन्सारको तथ्यांकले देखाएको छ । यो गत आवको साउनको तुलनामा १३ प्रतिशतले कम हो । त्यसबेला २ करोड ७६ लाख किलोग्राम ग्यासका लागि २ अर्ब ३४ करोड रुपैयाँ भारतीय आयल निगमलाई बुझाइएको थियो ।
हवाई इन्धनको आयात परिमाण ४ प्रतिशतले घटेको भन्सारको तथ्यांकले देखाएको छ । चालू आवको साउनमा यस्तो इन्धन १ करोड २ लाख लिटर आयात भएको छ । यो परिमाण अघिल्लो आवको समीक्षा अवधिमा १ करोड ७ लाख लीटर थियो ।
वीरगञ्ज नाकाबाट बितेको एक महीनामा पत्थर कोइला, लुब्रिकेन्ट आयल, अलकत्रा, मट्टितेल, फर्नेस आयल, बेस आयल, ट्रान्सफर्मर आयललगायत पेट्रोलियम पदार्थ भित्रिएको भन्सारको तथ्यांकमा उल्लेख छ ।
भन्सार कार्यालयले उठाएको कुल राजस्वमा पेट्रोलियम पदार्थको योगदान ४२ प्रतिशत देखिएको छ । बितेको साउनमा यो भन्सारले १२ अर्ब १६ करोड रुपैयाँ राजस्व उठाएको छ । यो लक्ष्यको ७२ प्रतिशत हो । गतवर्षको साउनमा ११ अर्ब ८६ करोड रुपैयाँ उठ्दा लक्ष्यको ७६ प्रतिशत पुगेको थियो । चालू आवको साउनका लागि आईसीपी भन्सारलाई १६ अर्ब ८६ करोड रुपैयाँको लक्ष्य दिइएको थियो ।