अस्ट्रेलियाको फुटबल प्रतियोगितामा नेपाली टोली विजयी



तास्मानिया,भदौ ६ । अस्ट्रेलियाको तास्मानियास्थित होवार्ट सहरमा आयोजित बहुसंस्कृतिक फुटबल प्रतियोगितामा नेपाली टोली विजयी भएको छ । उक्त प्रतियोगितामा भुटान, नाइजेरिया, नेपाल र भियतनामलाई प्रतिनिधित्व गर्दै ६ टिम सहभागी थिए। 

जसमा टाकीन, भुटनिज कम्युनिटी एसोसिएसन अफ साउथर्न तास्मानिया (बिकास्ट) र अस्ट्रेलियन भुटनिज सोसाइटी अफ साउथर्न तास्मानिया (एबीएसएनटी) गरी तीन टिमले भुटानको प्रतिनिधित्व गरेका थिए। 

त्यस्तै नाइजेरियन टिम ‘इमोले’, नेपाली टिम नेपलिज फुटबल क्लब अफ तास्मानिया (एनएफसीटी) र भियतनामको प्रतिनिधित्व गर्दै गोल्डेन ड्रयागन एफसी प्रतियोगितामा सहभागी थिए।

सहभागी टिम मध्यबाट नेपाललाई प्रतिनिधित्व गरेको टिम एनएफसीटी प्रतियोगितामा विजयी भएको एनएफसीटी क्लबका सचिव सुवास खतिवडाले जानकारी दिए । 

उनका अनुसार ६ टिम सहभागी भएको खेल दुई समूहमा विभाजन गरी खेलाइएको थियो। जसमा ग्रुप ‘ए’ बाट ग्रुप विजेताको रूपमा नेपाली टिम एनएफसीटी र ग्रुप ‘बी’ बाट भुटानी टिम ‘बीकास्ट’ फाइनल खेलमा भएको थियो।

फाइनलमा १–० को अन्तरले नेपाली टिम विजयी भएको हो। विजयी नेपाली टिम एनएफसीटी ले २५ सय अस्ट्रेलियन डलरका साथै ट्रफी हात पारेको छ। दोस्रो हुने भुटानी टिम ‘बिकास्ट’ ले एक हजार अस्ट्रेलियन डलरका साथै ट्रफी पाएको छ। 

प्रतिक्रिया दिनुहोस्