धरहरा खुला गर्ने तयारी



काठमाडौ,भदौ ६उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सर्वसाधारणका लागि धरहरा छिट्टै खुला गर्न आवश्यक तयारी भइरहेको बताएका छन्  ।

सिंहदरबारस्थित सहरी विकास मन्त्रालयमा बुधबार सञ्चारकर्मीसँगको भेटमा उपप्रधानमन्त्री सिंहले धरहरा निर्माण सम्पूर्ण रूपमा सम्पन्न नभए पनि धरहरा चढ्न चाहनेका लागि आवश्यक प्रबन्ध मिलाइने बताए । 

उनले भने, “धरहरा पूरै सञ्चालन गर्न नसकिए पनि केही भाग सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । धरहराको काम केही दिनमै सम्पन्न हुने होइन । धरहरा चढ्न चाहनेको बन्दोबस्त गर्न हामी लागिरहेका छौँ ।”

निर्माणाधीन संसद् भवनको ८१ प्रतिशत काम सम्पन्न भएको भन्दै उपप्रधानमन्त्री सिंहले निर्धारित समयसीमाभित्रै काम सकेर सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए । उनले जनशक्ति बढाएर भए पनि निर्धारित समयमा काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन भएको बताए ।उपप्रधानमन्त्री सिंहले भने, “के कति प्रगति भयो । साप्ताहिक रूपमा समीक्षा गर्दै आएका छौँ । निर्माणमा ढिला हुन दिने छैनौँ ।” 

प्रतिक्रिया दिनुहोस्