सिंगापुरमा सौर्य ऊर्जा निर्यात गर्न अस्ट्रेलियाद्वारा १३.५ अर्ब अमेरिकी डलरको परियोजना स्वीकृत
सिड्नी (अस्ट्रेलिया),भदौ ६। अस्ट्रेलियाले २० अर्ब अस्ट्रेलियन डलर (१३.५ अर्ब अमेरिकी डलर)को सौर्य परियोजनाका लागि अनुमति दिएको छ । उक्त परियोजनाले देशको उत्तरमा रहेको विशाल सौर्य फार्मबाट ४ हजार ३०० किलोमिटरमुनिको केबलमार्फत सिंगापुरमा ऊर्जा पठाउने योजना बनाएको छ ।
वातावरणमन्त्री तान्या प्लिबर्सेकले सनकेबलको फ्ल्यागसिप अष्ट्रेलिया–एसिया पावर लिंक परियोजनाले स्वदेश तथा विदेशमा नवीकरणीय ऊर्जाको बढ्दो माग पूरा गर्न मद्दत गर्ने बताइन् । उनका अनुसार विशाल सौर्य फार्मले ३० लाख घरलाई विद्युत् प्रदान गर्न पर्याप्त ऊर्जा उत्पादन गर्नेछ । ‘यो विश्वको सबैभन्दा ठूलो सौर्य क्षेत्र हुनेछ र यसले अस्ट्रेलियालाई हरित ऊर्जामा विश्वको अग्रणी देशको रूपमा परिचित गराउनेछ,’ उनले भनिन् ।
सनकेबलका अनुसार सन् २०२७ मा लगानीको अन्तिम निर्णय हुने र सन् २०३० को दशकको शुरुमा विद्युत् आपूर्ति शुरु हुने अपेक्षा गरिएको छ ।
परियोजनाले अष्ट्रेलियाको उत्तरी क्षेत्रको राजधानी डार्विन र सिंगापुरमा ठूला औद्योगिक ग्राहकहरूलाई ६ गिगावाटसम्म हरित बिजुली प्रदान गर्ने लक्ष्य राखेको छ ।
विपक्षी गठबन्धनले सन् २०५० सम्ममा कोइलाबाट चल्ने बिजुली प्रतिस्थापन गर्न आणविक संयन्त्र निर्माण गर्ने प्रस्ताव गरे पनि केन्द्र–वाम सरकारले नवीकरणीय ऊर्जा परियोजनालाई तीव्रता दिइरहेका बेला यो स्वीकृति आएको हो ।
अर्बपति माइक क्यानन–ब्रुक्सको स्वामित्वमा रहेको सनकेबलले यो मञ्जुरी परियोजनाका लागि ‘विश्वासको मत’ भएको बताएको छ । टेक फर्म एटलासियनका सह–संस्थापक तथा वातावरण कार्यकर्ता क्यानन ब्रुक्सले गत वर्ष यो परियोजना व्यावहारिक रहेको र बाह्य लगानीकर्ताहरू यस परियोजनामा आकर्षित हुने बताएका थिए ।
सनकेबल अस्ट्रेलियाका प्रबन्ध निर्देशक क्यामरून गान्र्सवर्थीले भने, ‘सनकेबलले अब सन् २०२७ सम्ममा परियोजनालाई अन्तिम लगानी निर्णयतर्फ अघि बढाउने योजनाको अर्को चरणमा आफ्नो प्रयास केन्द्रित गर्नेछ ।
सनकेबलले सिंगापुरको ऊर्जा नियामकसँग परियोजनाको केबल इन्टर–कनेक्टर कम्पोनेन्टको लागि सशर्त स्वीकृति लिन र इन्डोनेसियाली सरकारसँग उसको क्षेत्रको समुद्रमा केबल निर्माण गर्न छलफल गरिरहेको जानकारी दिएको छ ।
यो परियोजनाले गत महीना उत्तरी क्षेत्र सरकार र यस क्षेत्रको वातावरण निगरानी निकायबाट स्वीकृति प्राप्त गरेको थियो । च्यानलन्युजएशियाडटकम