बर्सेनि दोब्बरले बढ्दैछ क्युआरबाट हुने भुक्तानी



काठमाडौं,भदौ ६ । क्युआरबाट हुने भुक्तानी बर्सेनि दोब्बरले बढेको पाइएको छ । 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको एक तथ्यांकअनुसार आर्थिक वर्ष (आव) २०७८/०७९ मा १४ अर्ब ५२ करोड ६० लाख रुपैयाँको कारोबार क्युआरबाट भएको छ । त्यसको अर्काे वर्ष (आव २०७९/०८०) उक्त कारोबार ३० अर्ब १४ करोड ८० लाख रुपैयाँ पुगेको हो, जुन आव २०७८/०७९ को तुलनामा दोब्बरभन्दा बढी हो । 

आव २०८०/०८१ भने त्यो कारोबार ६१ अर्ब ७३ करोड ७० लाख रुपैयाँ छ । अघिल्लो आव २०७९/०८० को तुलनामा यो रकम पनि दोब्बरभन्दा बढी हो । 

क्युआर माध्यमबाट हुने कारोबार रकम मात्रै होइन, कारोबार संख्या पनि बर्सेनि दोब्बरभन्दा बढीले वृद्धि भइरहेको छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार आव २०७८/०७९ मा क्युआर भुक्तानीका ४२ लाख ८१ हजार ९९४ ओटा कारोबार भएकोमा आव २०७९/०८० मा ९७ लाख ६६ हजार २१६ पटक यस्ता कारोबार भएका थिए । आव २०८०/०८१ भने ती कारोबार संख्या २ करोड ८ लाख २५ हजार ६१५ पुगेका छन् ।   

इन्टरनेटसँगै सूचना प्रविधिमा आमसर्वसाधारणको पहुँच बढेकाले डिजिटल माध्यमबाट हुने भुक्तानी बढिरहेको जानकार बताउँछन् । 

प्रतिक्रिया दिनुहोस्