भारतीय प्रधानमन्त्री मोदी पोल्यान्डमा
वार्सा,भदौ ६ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ऐतिहासिक भ्रमणका क्रममा बुधबार पोल्यान्ड पुगेका छन् ।
रुस–युक्रेन युद्धको ‘शान्तिपूर्ण समाधान’ का लागि अभियान सुरु गर्न यसै साताको अन्त्यमा युक्रेनको भ्रमण गर्नुअघि उनी पोल्यान्ड पुगेका हुन् । युक्रेनको भ्रमण गर्ने मोदी पहिलो भारतीय प्रधानमन्त्री हुनेछन ।
साथै उनी ४५ वर्षमा पोल्यान्डको भ्रमण गर्ने पनि पहिलो भारतीय प्रधानमन्त्री हुनेछन । पोल्यान्ड युक्रेनको कट्टर सहयोगी तथा छिमेकी देश हो र किएभ जाने विदेशी नेताहरूका लागि पोल्यान्ड महत्त्वपूर्ण ‘ट्रान्जिट’ पनि हो ।
मोदीले बिहीबार पोलिश प्रधानमन्त्री डोनाल्ड टस्क र राष्ट्रपति आन्द्रेज डुडाका साथै यस मुलुकमा रहेका भारतीय नागरिकहरूसँग भेट्ने अपेक्षा गरिएको छ । उनको भ्रमणअघि पोल्यान्डका उपप्रधानमन्त्री व्लादिस्लाव कोसिनियाक–कामिजले पत्रकारहरूसँग भने, “पोल्यान्डलाई भारतसँग दिगो साझेदारीको आवश्यकता छ ।”
मोदीले रुससँग भारतको ऐतिहासिक रूपमा न्यानो सम्बन्ध कायम राख्नुका साथै क्षेत्रीय प्रतिद्वन्द्वी चीन विरुद्ध पश्चिमी मुलुकहरूसँग घनिष्ठ सुरक्षा साझेदारी गरेर नाजुक सन्तुलन बनाएका छन् ।उनको सरकार युक्रेनमा रुसको सन् २०२२ को आक्रमणको स्पष्ट निन्दा गर्न पन्छिएको छ । यसको सट्टा उसले दुवै पक्षसँग वार्तामार्फत आफ्ना मतभेदहरू समाधान गर्न आग्रह गरेको छ ।
पोल्यान्ड प्रस्थान गर्नुअघि बुधबार प्रकाशित विज्ञप्तिमा मोदीले भने, “एक मित्र र साझेदारका रूपमा हामी यस क्षेत्रमा चाँडै शान्ति र स्थिरता फर्किने आशा गर्दछौँ ।” किएभमा प्रधानमन्त्री मोदीले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँग छलफल गर्नुहुने र ‘युक्रेनमा जारी द्वन्द्वको शान्तिपूर्ण समाधानमा दृष्टिकोण साझा गर्नुहुने’ विज्ञप्तिमा उल्लेख छ ।
सोमबार जेलेन्स्कले मोदीको भ्रमणका क्रममा ‘धेरै दस्तावेजमा हस्ताक्षर हुने अपेक्षा गरिएको’ बताए । जुलाईमा रुसले युक्रेनका धेरै सहरमा आक्रमण गरेको केही घन्टापछि मोदीले मस्कोको भ्रमण गरेका थिए र आफ्नो निवासमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अङ्कमाल गर्दै फोटो खिचेका थिए । जेलेन्स्कीले यसको निन्दा गरेका थिए ।
मोदीले सन् २०१९ मा पनि रुसको भ्रमण गरेका थिए र दुई वर्षपछि मस्कोले युक्रेनविरुद्ध आफ्नो आक्रामक अभियान सुरु गरेको केही साताअघि नयाँदिल्लीमा पुटिनलाई स्वागत गरेका थिए । भारत धेरै हदसम्म रुसको स्पष्ट निन्दा गर्न र क्रेमलिनलाई लक्षित गर्ने संयुक्त राष्ट्रसङ्घीय प्रस्तावहरूबाट टाढा रहेको छ । रासस/एएफपी