सरकारको अनिर्णयले सवा करोड नेपाली सञ्चार सम्पर्कबाट बञ्चित हुँदै, तपाइँको मोबाइल भदौ १४ पछि के हुन्छ ?



काठमाडौँ,भदौ ४ । सरकारले समयमै निर्णय नगर्दा करीब १ करोड ३० लाख नेपाली सञ्चार सम्पर्कबाट बञ्चित हुने भएका छन् । आगामी भदौ १६ बाट देशकै ठूलो मोबाइल सेवा प्रदायक एनसेल कम्पनी खारेज हुने जोखिम बढेको छ ।

कम्पनीले भदौ १४ भित्र २३ अर्ब रुपैयाँ राजस्व तिरेर ५ वर्षपछि सबै श्रीसम्पत्ती सरकारको नाममा पास गरिदिने लिखित निवेदन दिएको अवस्थामा मात्रै एनसेलको लाइसेन्स जोगिने अवस्था छ । तर कम्पनी यो पैसा चुकाउन तयार देखिएको छैन ।

घट्दो ब्यापार र खुम्चँदो नाफालाई देखाएर एनसेलले एकै पटक यति ठूलो धनराशी तिर्न असमर्थता देखाएको छ । उसले दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणसँग किस्ताबन्दीको सुविधा मागेर राजनीतिक लबिङ गरिरहेको छ ।

प्राधिकरणले भने दूरसञ्चार सम्बन्धी कानुनमा किस्ताबन्दीको व्यवस्था नभएको भन्दै त्यस्तो सुविधा दिन नसकिने धारणा राख्दै आएको छ । उता, यसअघि माओबादी नेतृत्वको सरकारले गत फागुन ६ गते बसेको मन्त्री परिषद बैठकबाट ५ वर्षपछि सबै जायजेथा सरकारको नाममा आउने सुनिश्चितता गरेरमात्रै नविकरण हुनसक्ने निर्णय गरेको छ ।

यस्तो अप्ठेरो परिस्थितिमा के कसरी बाटो फुकाउने भन्ने स्पष्ट आधार तय गर्न सरकारले ढिलाइ गरिरहेको छ । यही कारण लाखौँ नागरिकको हातमा भएको मोबाइल सेवा अव के हुन्छ भन्ने प्रश्न उब्जिएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले गत चैतमा प्रकाशन गरेको एक तथ्यांक अनुसार नेपालमा एनसेलका १ करोड २९ लाख ५२ हजारभन्दा धेरै मोबाइल फोन प्रयोगकर्ता छन् भने त्यसमध्ये ७६ लाख १७ हजारभन्दा धेरैले ब्रोडब्याण्ड इन्टरनेट चलाउँछन् ।

यति विशाल जनसंख्यालाई सञ्चार सञ्जालमा जोड्ने बृहत कम्पनीको भविष्य अन्योलमा पर्नु दुःखद भएको प्राधिकरणका एक उच्च अधिकारी बताउँछन् ।

अब एनसेलको लाइसेन्स अवधि ८ कार्यदिनमात्रै बाँकी छ । भदौ १४ गते शुक्रबार भित्र नविकरण नभए कम्पनीको भविष्य के हुन्छ र त्यसपछि कम्पनीका सेवाग्राहीहरुको अवस्था के हुन्छ भन्ने अनिश्चय छ । यसले अर्थतन्त्रमा भयंकर ठूलो प्रभाव पार्ने नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व बरिष्ठ निर्देशक आनन्दराज खनाल बताउँछन् ।

‘विगतमा स्मार्टसेल बन्द हुँदा पनि यसले ठूलो असर पारेको थियो । तर स्मार्टसेलको तुलनामा एनसेलाको उपभोक्ता सञ्जाल र अर्थतन्त्रमा यसको प्रभाव निकै ठूलो छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्