विद्युत् निर्यात एक हजार मेगावाट नाघ्यो



काठमाडौ,भदौ ४ । नेपालले १० वर्षमा १० हजार मेगावाट विद्युत् भारत निर्यात गर्ने लक्ष्य लिएको पहिलो वर्ष नै यो आँकडा एक हजार मेगावाटभन्दा धेरै हुने भएको छ । नेपालले द्विपक्षीय सम्झौताबमोजिम भारतका विहार र हरियाणा राज्यलाई थप २५१ मेगावाट विद्युत् निर्यात स्वीकृति पाएसँगै यस्तो सुनिश्चिता भएको हो ।

नेपालका लागि भारतीय दूतावासले नेपालबाट थप विद्युत् निर्यातका लागि स्वीकृति प्राप्त भएको जानकारी दिएको हो । नेपालले हालसम्म १६ जलविद्युत् आयोजनाको ६९० मेगावाट निर्यातको स्वीकृति पाएकामा पछिल्लो स्वीकृतिसँगै २८ अयोजनाबाट ९४१ मेगावाट पुगेको छ । विद्यत् चुहावटसमेत व्यवस्थापन गर्ने गरी १० प्रतिशतसम्म थप निर्यात गर्न सकिने प्रावधान रहेकाले निर्यातले एक हजार मेगावाटको आकडा पार गरेको हो । नेपाल विद्युत् प्राधिकरणको प्रयासले सार्थकता पायो भने यसमा अझै दुई सय मेगावाट थप हुने छ ।

भारतको विद्युत् मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले दिएको स्वीकृति अनुसार नेपाल विद्युत् प्राधिकरणले अब हरियाणा राज्यलाई थप १२५.८९ मेगावाट र विहारलाई १२५ मेगावाट विद्युत् मध्यकालीन सम्झौताबमोजिम निर्यात गर्न स्वीकृति पाएको छ । मध्यकालीन सम्झौता अनुसार हरियाणामा १०९ मेगावाट विद्युत् निर्यात भइरहेकामा १२५.८९ मेगावाट थप गरिएको हो । विहारका लागि भने पहिलो पटक हो ।

यससँगै मध्यकालीन सम्झौताबमोजिम भारतका राज्यस्तरका वितरण कम्पनीहरूलाई बिक्री गरिने विद्युत्को परिमाण ३६० मेगावाट पुगेको छ । बाँकी विद्युत् इन्डियन इनर्जी एक्सचेन्ज (आइइएक्स) को डे अहेड र रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा बिक्री हुने गरेको छ । मध्यकालीन सम्झौता अनुसार जुनदेखि अक्टोबरसम्म विद्युत् निर्यात हुन्छ भने आइइएक्समा विद्युत्को उपलब्धता अनुसार जुनसुकै समय खरिद बिक्री गर्न सकिन्छ । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यो स्वीकृति प्राप्त भएसँगै निर्यात तुरुन्तै सुरु गर्ने जानकारी दिए । “विहार र हरियाणामा हामी तत्काल यो विद्युत् पु¥याउँछौँ,” उनले भने, “सम्झौता अनुसार स्वीकृत परिमाणको १० प्रतिशत थप विद्युत् निर्यात गर्न सक्ने हुँदा अब एक हजार मेगावाटभन्दा बढी निर्यात गर्ने अवस्था बनेको छ ।”

प्रतिक्रिया दिनुहोस्