थप २५१ मेगावाट विद्युत् निर्यातको लागि भारतको स्वीकृति, अपर्याप्त प्रसारण लाइन बाधक हुन सक्ने
काठमाडौं,भदौ ४। नेपालले भारतमा थप २५१ मेगावाट बिजुली निर्यात गर्न अनुमति पाएको छ । भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले उक्त बिजुली भारतको विहार र हरियाणा राज्यमा निर्यात गर्न बाटो खोलिदिएको नेपाल विद्युत् प्राधिकरणले बताएको छ ।
यसअघि नेपालले १६ ओटा परियोजनाबाट उत्पादित ६९० मेगावाट बिजुली निर्यात गर्न भारतबाट अनुमति पाएको थियो । थप विद्युत् निर्यातको अनुमतिसँगै नेपालले २८ जलविद्युत् आयोजनाबाट उत्पादित ९४१ मेगावाट विद्युत् निर्यात गर्न सक्ने काठमाडौंस्थित भारतीय राजदूतावासले सोमवार एक विज्ञप्ति प्रकाशित गरी जानकारी दिएको छ ।
नयाँ निर्यात अनुमति प्राप्त गरेका परियोजनामध्ये १० आयोजनाबाट उत्पादित १२५ मेगावाट विहारलाई र २ जलविद्युत् आयोजनाबाट उत्पादित थप १२५ दशमलव ८९ मेगावाट विद्युत् हरियाणा राज्यका वितरण कम्पनीहरूलाई विक्री गर्ने नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ ।
मध्यकालीन पाँचवर्षे सम्झौताअनुसार वर्षायाममा ५ वर्ष लगातार उक्त विद्युत् निर्यात गर्न सकिने प्राधिकरणले बताएको छ । प्राधिकरणले हरियाणा राज्यलाई हाल १०९ मेगावाट विद्युत् विक्री गरिरहेको छ । विहारमा भने पहिलोपल्ट विक्री गर्न लागिएको प्राधिकरणको भनाइ छ ।
परराष्ट्रमन्त्री आरजु राणा देउवा भारत भ्रमणमा रहेका बेला भारतले निर्यात अनुमतिको घोषणा गरेको छ । सोमवार सामाजिक सञ्जाल एक्समा प्रतिक्रिया लेख्दै परराष्ट्रमन्त्री राणाले थप २५१ मेगावाट बिजुली निर्यातको अनुमति दिएकोमा भारत सरकारप्रति आभार प्रकट गरेकी छन् । आगामी दिनमा दुई देशबीच विद्युत् क्षेत्रमा हुने सहयोगले थप उचाइ लिने विश्वास पनि उनले व्यक्त गरिन् ।
त्यसैगरी एक्समै लेख्दै भारतका परराष्ट्रमन्त्री एस जयशंकरले पनि नेपालका परराष्ट्रमन्त्रीसँग ऊर्जा, व्यापार, जडान (कनेक्टिभिटी) पूर्वाधारलगायत क्षेत्रमा छलफल भएको जानकारी दिँदै नेपालले करीब १ हजार मेगावाट बिजुलीे भारत निर्यात गर्न पाउनु एक कोसेढुंगा भएको बताए ।
प्राधिकरणका अनुसार नयाँ अनुमतिसँगै नेपालमा खपत गरी बचेको वर्षायामको विद्युत् हरेक वर्ष जुनदेखि अक्टोबरसम्म विहार र हरियाणालाई विक्री गरिनेछ । विहारसँग प्रसारण लाइन जोडिएका कटैया, रक्सौल र रामनगर बिन्दुमार्फत विद्युत् निर्यात गरिनेछ । हरियाणामा भने ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत नै विद्युत् निर्यात गरिने प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले आर्थिक अभियानलाई बताए ।
थप विद्युत् निर्यातको स्वीकृति पाएसँगै मध्यकालीन सम्झौताबमोजिम भारतका राज्यस्तरका वितरण कम्पनीहरूलाई विक्री गरिने विद्युत्को परिमाण ३६० मेगावाट पुगेका प्राधिकरणले बताएको छ ।
- थप २५१ मेगावाट बिजुली निर्यात अनुमति दिएकोमा परराष्ट्रमन्त्री आरजु राणा देउवाद्वारा भारत सरकारप्रति आभार प्रकट
- नेपालले करीब हजार मेगावाट बिजुली भारत निर्यात गर्न पाउनु कोसेढुंगा भएको भारतीय परराष्ट्रमन्त्री एस जयशंकरको भनाइ
- १२५ मेगावाट विद्युत् विहारलाई र १२५.८९ मेगावाट हरियाणा राज्यलाई
- चालू आर्थिक वर्षमा २५ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात गर्ने प्राधिकरणको लक्ष्य
प्राधिकरणका अनुसार आगामी अक्टोबरसम्म विक्री गरिने विद्युत्को विक्रीदर प्रतियुनिट ८ रुपैयाँ ७२ पैसा (५.४५ भारू) रहेको छ । गतवर्ष हरियाणालाई विक्रीका लागि स्वीकृति दिएको १०९ मेगावाटको प्रतियुनिट दर ८ रुपैयाँ ४० पैसा (५.२५ भारू) छ । यसमा भारततर्फको प्रसारण लाइन शुल्क, चुहावट, ट्रेडिङ मार्जिनलगायत सम्पूर्ण कर तथा शुल्क प्राधिकरणले बेहोर्नु नपर्ने बताइएको छ ।
प्राधिकरणले सन् २०२१ देखि देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारत निर्यात गर्दै आएको छ । हाल भारतको इनर्जी एक्सचेन्ज (आईएक्स)को रियलटाइम मार्केट, डे–अहेड बजारमा प्रतिस्पर्धी दरमा र मध्यकालीन विद्युत् सम्झौताबमोजिम हरियाणा राज्यलाई विक्री गरिरहेको छ ।