दक्षिण एशियाकै प्रमुख विद्युत् निर्यातकर्ता बन्ने बाटोमा नेपाल, भारतले थप २५१ मेगावाट बिजुली लैजाने



काठमाडौं,भदौ ३ । भारतले नेपालबाट थप २५१ मेगावाट विद्युत खरिद गर्ने भएको छ । भारतले नेपालका १२ वटा जलविद्युत् परियोजनाबाट थप २५१ मेगावाट विद्युत खरिद गर्ने भएको हो ।

सो बराबरको विद्युत आयातको प्रस्ताव भारतले स्वीकृत गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार नेपालले पहिलो पटक बिहारमा मध्यकालीन विद्युत् बिक्री सम्झौतामार्फत बिजुली निर्यात गर्ने भएको छ ।

यसअघि भारतले ६९० मेगावाट (१६ वटा परियोजनाबाट) विद्युत खरिदको स्वीकृति दिएको थियो । हाल थप २५१ गरि कुल २८ वटा परियोजनाबाट ९४१ मेगावाट विद्युत खरिद गर्ने भएको हो ।

२५१ मेगावाट स्वीकृत हुनुअघि नै अर्थाते गत आर्थिक वर्ष २०८०–८१ मा १६ अर्ब ९३ अर्ब रुपैयाँ बराबरको बिजुली बिक्री गरी खुद विद्युत् निर्यातकर्ता बनिसकेको छ ।

सन् २०२१ अक्टोबरमा भारतले पहिलो पटक नेपालबाट भारततर्फ ३९ मेगावाट बिजुली निर्यातका लागि अनुमति दिएको थियो । तीन वर्षभन्दा कम अवधिमा यो आँकडा २४ गुणाभन्दा धेरैले बढेको छ ।

इन्डियन इनर्जी एक्सचेन्जको डे अहेड मार्केटमा बिक्री गरी नेपालले पहिलो पटक ऊर्जा निर्यात शुरू गरेकोमा अहिले भारतले रियल टाइम मार्केटमा समेत पहुँच प्रदान गरेको छ ।

विद्युत् प्राधिकरणले हरियाणा र बिहारसँग मध्यकालीन विद्युत् बिक्री सम्झौता पनि गरेको छ । नेपाल र भारतबीचको दीर्घकालीन ऊर्जा सम्झौताले आउँदो १० वर्षमा नेपालबाट भारतलाई १० हजार मेगावाटसम्म बिजुली बिक्री गर्ने परिकल्पना गरेको छ । यी गतिविधिसँगै नेपाल दक्षिण एशिया क्षेत्रकै प्रमुख जलविद्युत् निर्यातकर्ता बन्ने बाटोमा पुगेको छ ।

बङ्गलादेशलाई ४० मेगावाट बिजुली बिक्री गर्ने सम्झौता टुङ्गो लागेको छ । बंगलादेश विद्युत निर्यातका लागि गत साउन १३ गते हस्ताक्षर गर्ने योजना थियो । तर, बङ्गलादेशको पछिल्लो राजनीतिक घटनाक्रमका कारण हस्ताक्षर स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस्