यस्तो छ जनै पूर्णिमाको महिमा



काठमाडौँ,भदौ ३ । आज जनै पूर्णिमा हो । हिन्दु धार्मिक शास्त्र अनुसार हरेक बर्षको साउन महिनाको शुक्ल पूर्णिमा तिथिको दिन यो पर्व मनाइन्छ । हिन्दुहरुको धार्मिक तथा साँस्कृतिक पर्व जनैपूर्णिमाको अवसरमा तागाधारी (जनै लगाउने) समुदायले पुरानो जनै फेरेर नयाँ जनै धारण गर्ने चलन छ । यस दिन तागाधारीहरूले वर्षभरिका लागि जनै (यज्ञोपवीत) मन्त्रिने र आफ्नो जनै फेर्ने चलन छ ।

साथै, यस दिन कात्यायनआदि आफ्ना शाखासूत्रका ऋषिहरूलाई खुसी पार्नका लागि कुशनिर्मित ऋषिहरूको तर्पण गरिने भएकाले यस पर्वलाई ऋषि तर्पणी पूर्णिमा पनि भनिन्छ।

अघिल्लो दिन (श्रावण शुक्ल चतुर्दशी) हातखुट्टाका नङ काट्ने, कपाल खौरने र चोखोनितो गरी एक छाकमात्र खाएर बस्ने चलन छ। यसरी एकछाकी व्रत बसेकाहरूले पूर्णिमाका दिन बिहानै नित्यकर्म गरिसकेपछि पोखरी, तालतलैया, नदी वा कुण्डआदि जलाशयमा गई सामूहिक रूपमा संकल्प एवं मन्त्रोच्चारणपूर्वक स्नान गर्दछन्।

स्नान गर्दा पञ्चगव्य (गाईको दूध, दही, घिउ, गौँत र गोबर), भस्म, सप्तमृत्तिका, अपामार्ग आदिको लेप शरीरमा घस्ने गर्दछन्। यसरी गरिएको स्नानलाई गणस्नान वा श्रावणी स्नान भनिन्छ । यस दिन गरिने कर्मलाई उपाकर्म पनि भन्ने गरिन्छ ।

स्नानपछि वैदिक रुद्राभिषेक पद्धतिद्वारा जनै र रक्षाबन्धन धागो मन्त्रिने परम्परा रहेको छ। श्रावणी गर्दा सुरुमा दियो, कलश, गणेश पूजा गर्ने, रुद्राभिषेक र रुद्रीपाठ गर्ने, थालीमा अरुन्धतीसहित कुश–निर्मित सप्त ऋषि (कश्यप, भारद्वाज, गौतम, अत्रि, जमदग्नि, वशिष्ट र विश्वामित्र) को पूजा गर्ने चलन छ।

जौ, तिल, कुशद्वारा बिधिवत ऋषि तर्पण गरी वैदिकविधि पूर्वक मंत्रित नयाँ जनै फेर्ने चलन रहेकाले यस पर्वलाई जन भाषामा ‘जनैपूर्णिमा’ भनिएको हो ।

सूचनाद् ब्रह्मतत्वस्य वेदतत्वस्य सूचनाद्
तत्सूत्रमुपवीतत्वाद् ब्रह्मसूत्रमिति स्मृतम्।

अर्थात् ब्रह्मप्राप्तिका सहायक, वेदादि शास्त्रतत्वको सूचक भएकाले जनैलाई यज्ञोपवीत वा यज्ञसूत्र भनेर शास्त्रले परिभाषित गरेको छ। शिखाबन्धन र जनै धारणलाई धार्मिक कार्यमा अनिवार्य मानिएको छ। जनै नलगाउने जातजातिले पनि उत्तरीय वस्त्र (काँधमा लगाइने शुद्ध वस्त्र) लगाउने चलन छ। सनातन धर्मशास्त्रमा जनै लगाउने, गायत्री जप्नुपर्ने, श्रावणी वा उपाकर्म गर्ने, देव तर्पण, पितृतर्पण, ऋषि तर्पण गर्ने र जनै दान गर्नेजस्ता कर्म उल्लेख गरिएको पाइन्छ।

जनै ६ सूते धागो (काँचो धागो) लाई दुई बेग्लाबेग्लै शिखा पारेर एक ठाउँमा राखी तयार पारिएको हुन्छ। जनैमा रहने दुईवटा शिखाका ६ डोरामध्ये एउटा शिखामा रहेका तीनवटा डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाका तीनवटा डोरालाई कर्म, उपासना र ज्ञानको प्रतीक मानिन्छ।

जनैका ती डोरामा तन्तु देवता भनेर पूजा गरिन्छ। ॐकार, अग्नि, सर्प, सोम, पितृ, प्रजापति, अनिल, यम, विश्वेदेवा गरी नौवटा डोरामा नौवटा देवताको पूजा गरिन्छ। साथै जनैका ग्रन्थिमा ब्रह्मा, विष्णु र रुद्र देवताको पूजा गरिन्छ। जनैको शिखामा अष्टविनायकादी गणपतिको पूजा गरिन्छ । यसरी अभिमन्त्री जनै फेर्दा भन्ने मन्त्र यस्तो छः

यज्ञोपवीतं परमं पवित्रं प्रजापतेर्यत्सहजं पुरस्तात्।
आयुष्यमग्रयं प्रतिमुञ्च शुभ्रं यज्ञोपवीतं बलमस्तु तेजः ॥

अर्थात्, यो यज्ञोपवीत सर्वप्रथम प्रजापती (ब्रह्मा जी)को इन्द्रिय (नाक कान आदि)जस्तै गरी प्रादुर्भाव भएको थियो । दीर्घायु प्रदान गर्नेवाला यो उत्तम यज्ञोपवीत धारण गर । यसले तिमीलाई बल र तेज प्रदान गर्छ । ब्रह्मोपनिषद्मा उल्लेखित यस मन्त्रोच्चारणसँगै जनै फेरेपछि आचमन गरेर गायन्त्री जप गर्नुपर्छ ।

अभिमन्त्रित जनै आफ्ना पितृ, देवता र ब्राह्मणहरूलाई दान गरिसकेपछि ॐ ऋग्वेदाय स्वाहा, ॐ यजुर्वेदाय स्वाहा, ॐ सामवेदाय स्वाहा भनी तीनपटक आचमन गर्ने र ॐ अथर्ववेदाय स्वाहा भनेर हात धुने विधान पनि छ। अथवा, ॐ केशवाय नमः स्वाहा, ॐ नारायणाय नमः स्वाहा, ॐ माधवाय नमः स्वाहा भनेर तीनपटक आचमन गर्ने र ॐ गोविन्दाय नमः स्वाहा भनेर हात धुने र संकल्प गर्नुपर्ने विधान पनि छ।

यजमानहरू आफ्ना गुरु वा पुरोहितकहाँ वा गुरुपुरोहित आफ्ना यजमानहरूकहाँ गई मन्त्रिएको यज्ञोपवीत र रक्षाबन्धन धारण गर्ने÷गराउने चलन पनि रहेको छ। कतिपय ठाउँमा भान्जा वा ज्वाइँका हातबाट जनै फेर्ने चलन पनि रहेको पाइन्छ। जनै फेरेपछि आचमन गरी १००८, १०८ वा १० पटक गायत्री मन्त्र जप गर्नुपर्ने विधान पाइन्छ।

रक्षाबन्धनको पौराणिक प्रसङ्गहरु

विभिन्न धार्मिक एबं पौराणिक प्रसङ्गहरुले जनै पूर्णिमा तथा रक्षाबन्धनको दिनलाई सम्झाई राखेको हुन्छ । सत्य युगमा बारम्बार युध्दमा दानव राज दानवेन्द्र महावलिसँग हारेर देवराज इन्द्र समेत खेदिएका थिए । यसरी लखेटिएका इन्द्र र समस्त देबगणको सुरक्षाका निम्ति देवगुरु वृहस्पतिले रक्षा बिधान तयार पारेर बाँधिदिएका थिए ।

त्यही अभिमंत्रित रक्षा सुत्रका कारण नै पछि देवराज इन्द्र बिजयी भएका थिए भन्ने पौराणिक कथन भविश्यपुराणमा उल्लेख्य छ । इन्द्रायणीले तयार पारेको रेसमको धागोलाई वैदिक मन्त्रले सिद्ध गरी देवराजको हातमा बाँधिदिएपछि इन्द्रले विजय हासिल गरेको कथन यसमा छ ।

सोही कथनबाट अभिप्रेरित भएर गुरुजनबाट रक्षाबन्धन लगाउने परम्परा हिन्दुहरुले आजसम्म मान्दै आएका छन् ।

येन वद्धो बली राजा दानवेन्द्रो महावलः ।
तेनत्वामपि वध्नामि रक्षे मा चल मा चलः ।।

अर्थात् ‘जुन रक्षासूत्र या रक्षाबन्धन (काँचो धागो) ले दैत्यराज बलीलाई बाँधिएको थियो, म तिमीलाई त्यही धागोले बाँध्दै छु, यो रक्षाबन्धनले तिम्रो सदैव रक्षा गर्नेछ।’ यही मन्त्रले रक्षाबन्धन बाँधिदिए पछि धन, शक्ति, हर्ष र विजय प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास रहँदै आएको छ।

त्यसै गरी श्रीमद्भागवत महापुरणमा बर्णन भए अनुसार दानवराज बलिले जप, तप र तपस्याबाट भगवान बिष्णुलाई प्रभावमा पारे र उनले आफूसँगै रसातलमा बस्न बाध्य तुल्याए । बिष्णु भगवान रसातलमै बसेपछि वैकुण्ठ माता महालक्ष्मी चिन्तित हुनुभयो । त्यसपछि माता लक्ष्मीले चतुर्‍याइँका साथ दानवराज बलिलाई रक्षा बन्धन बाँधेर आफ्नो भाइ बनाउनु भयो ।

यसरी बलिलाई भाइ बनाएर उनको मन जितेपछि बलिले वरदान दिने वचन दिए । वचनबद्ध गराएपछि महालक्ष्मीले विष्णुलाई माग्नुभयो र आफ्नो पतिलाई लिएर वैकुण्ठ फर्किनुभयो । यसरी दानावराजको कब्जाबाट बिष्णु भगवानलाई मुक्त गरेको दिन साउन शुक्ल पूर्णिमा कै दिन हो । यस आधारमा दिदी बहिनीले दाजुभाइलाई राखि बाँध्ने र दाजुभाइले वचन दिने चलनको विकास भएको पाइन्छ ।

यही रक्षासूत्र पीपलको पूजा गरी बाँध्नाले शनिसंकटाबाट हुने अनिष्ट निवारण हुन्छ भन्ने ज्योतिषीय मान्यताका आधारमा शनिबार पीपललाई रक्षासूत्र बाँधिन्छ।

मेला पर्व

आज रसुवाको गोसाँईकुण्डमा विशेष मेला लाग्छ । स्कन्ध पुराणका अनुसार समुद्र मन्थनको समयमा निस्किएको कालकूट विषले पुरै संसार ध्वस्त पार्न थालेपछि महादेवले उक्र विष सेवन गर्नु भएको थियो । संसारको रक्षा हेतु महादेवले आफ्नो कण्ठमा उक्त विष धारण गरेकाले भगवान शङ्करलाई ‘नीलकण्ठ’ भनिएको हो ।

उनै नीलकण्ठ भगवानको गलामा विषका कारण असैह्य पीडा भएपछि महादेवले त्रिशूल प्रहार गरेर जलधारा निकालेको र त्यही जलको सेवनपछि महादेवलाई शान्ति मिलेको थियो । सोही स्थानलाई गोसाइँकुण्ड वा गोसाइथान भनेर चिनिन्छ ।

यसका साथै काठमाण्डौको पशुपतिनाथ, सुनसरीको बराहक्षेत्र, भक्तपुरको कुम्भेश्वर महादेव, नुवाकोटको दुप्चेश्वर महादेव, जनकपुरको गङ्गासागर र धनुषसागर, सोलुखुम्बुको दूधकुण्ड, खोटाङको हलेसी, जुम्लाको दानसाधु, नगरकोट लगायतका पर्वतीय शिखर, महादेवस्थान र त्रिवेणी धामहरुमा मेला लाग्दै आएको छ ।

भारतको जम्मू र कश्मीर राज्यमा पर्ने चर्चित अमरनाथ गुफाको धार्मिक यात्रा गुरु पूर्णिमादेखि सुरु भएर जनैपूर्णिमाका दिन समापन गर्ने चलन छ। यस दिन यहाँको हिमानी शिवलिङ्गले पनि आफ्नो पूर्ण आकार प्राप्त गर्छ भन्ने मान्यता छ। प्रत्येक वर्ष यही मौसममा उक्त गुफामा मेला लाग्ने गरेको छ।

राखीको कथा

अर्को कथन अनुसार यमदुतले आफ्नी बहिनी यमुनासँग राखी बाँधेका थिए । राखी बाध्ने क्रममा उनले आशीर्वाद दिँदै भने, ‘जस जसले यस दिन पवित्रताको राखी बाँध्छन्, ति सबै यमदुतका सजाय र भयबाट मुक्त हुन्छन् ।’ यसराजले दिएको यही बचन अनुरुप राखी बाध्ने प्रचलन आएको भन्ने किंवदन्ती पनि रहेको छ ।

यस दिन सबै जना जनै लगाउन तागाधारीहरुले पुरानो जनै फेरेर नयाँ जनै लगाउने गर्दछन । यस दिन सबैले ब्राह्मण पुरोहित तथा भान्जाहरुसँग रक्षा बन्धन बाध्न लगाउने चलन छ । ब्रह्माण्डहरुले गाउँ घरमा सबैतिर गई सबै मानिसलाई रक्षा बन्धन बाँधेर टीका लगाईदिने गर्दछन् ।

जनै पूर्णिमा अर्थात रक्षा बन्धनको पावन दिनमा नेपाल लगायत भारतमा दिदीबहिनीले दाजुभाइलाई दीर्घायु र स्वथ्य एवम् सफल जीवनको कामना गरी अनेक थरिका कलात्मक राखी बाँधिदिने चलज छ । साथै उनीहरुले आफ्ना दाजु भाइबाट आफ्नो रक्षाको बचन लिने गर्दछन् ।

नेवारको लोकोक्ति र क्वाती

यो पबित्र दिनलाई काठमाडौँको नेवार समुदायमा गुन्हुपुन्ही भनि मनाइने चलन छ । यो पर्वको कथन भने एउटा भ्यागुतोसँग जोडिन्छ । एउटा भ्यागुताले विभिन्न किसिमका स्वर निकालेर वर्षा र खेतीको बारे कृषकलाई जानकारी दिने गर्छ । भयागुताले गठे मुंगलका दिन नरभक्षी घण्टासूरलार्इ बाटो भुलाईदिएर खाल्डोमा जाकिदिएकाले नेवार समुदायका मानिस जनै पूर्णिमा अर्थात् रक्षा बन्धनको दिन भ्यागुताको पूजा गर्ने गर्छन् । उनीहरु खेतमा गएर भ्यागुतालाई खाना खुवाउने चलन रहेको छ ।

बिशेष गरी यस दिन नेवार समुदायमा नौ थरी गेडा गुड़ी मिसाई भिजाएर टुसा उम्रेपछि क्वाँटी बनाई खाने र आफन्तलाई खुवाउने चलन छ । यसरी बनाएको क्वाटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र बर्षाका कारण चिसो भएको शरीरबाट सर्दी बाहिर जान्छ भन्ने विश्वास गरिन्छ ।

नेपालभाषामा क्वातिको शाब्दिक अर्थ ‘क्वाः’ भनेको तातो परिकार र ‘ति’ भनेको झोल हो । त्यसैले ‘क्वाति’ को अर्थ तातो झोल वा झोलिलो परिकार हो । आजको दिनलाई क्वाँटी खाने दिन पनि भनिन्छ । दुई दिन अघिदेखि पानीमा भिजाई राखिएको क्वातीमा मुंग, मास, भटमास, सानो केराउ, मस्याङ, चना, सिमी, बोडी र बकुल्ला गरी नौ थरिका गेडागुडी मिसाइएको हुन्छ ।

वेद जयन्ती र संस्कृत दिवस

विष्णुपुराणको अर्को प्रसंगमा माता आदिशक्तिको उपासनाबाट हयग्रीव (घोडाको जस्तो टाउको र मान्छेको जस्तो शरीर भएको) दैत्यले आफूजस्तै हयग्रीवबाट मात्र मृत्यु होस् भन्ने वर पायो । त्यसपछि उसले आफूलाई अजेय मानेर वेदादि शास्त्र र धर्मको विनाश गर्न थाल्यो।

यस दानवबाट ब्रह्मासहित देवताहरू आजित भएपछि भगवान् विष्णुले योगमायाको शक्तिद्वारा हयग्रीवकै रूप लिएर यसै दिन सो दैत्यको विनाश गरेको भनिन्छ । तसर्थ वेदको रक्षा गरिएको हुनाले श्रावण शुक्लपूर्णिमाको दिनलाई वेदरक्षा दिवस या वेद जयन्तीका रूपमा पनि मनाइन्छ।

वेद जयन्तीको दिनलाई वेदको भाषा भनिने संस्कृत भाषाको दिवसका रुपमा पनि मनाइन थालिएको छ । संस्कृत भाषाको वस्तुगत महत्वलाई जन–समक्ष पुर्याउन र संस्कृत साहित्यमा रहेको विशाल ज्ञानको अनुसन्धान गर्न, वौद्धिक समुदायलाई यसप्रति उत्प्रेरित गर्न एवम् विद्यार्थीलाई संस्कृत भाषाको अध्ययन गर्ने प्रेरणा दिन हरेक वर्षको जनै पूर्णिमाका दिन ‘विश्व संस्कृत दिवस’ मनाउने गरिएको छ।

श्रावण पुर्णिमाको दिन मै वेद पाठनको शुरुवात हुने भएकाले आजको दिन नै संस्कृत दिवस भनेर मनाइन थालेको हो।

प्रतिक्रिया दिनुहोस्