नुवाकोटको छहरे फ्युज शाखा घेर्दै स्थानीयले भने- ‘पैसा पनि तिर्दैनौ, लाइन काट्न दिदैनौ’



नुवाकोट,भदौ २ । जिल्लाको लिखु गाउँपालिका वडा नम्बर ६ स्थित थान्सिङमा रहेको छहरे फ्युज शाखा स्थानीयले घेराउ गरेका छन् ।

आइतबार स्थानीयले फ्युज शाखा घेर्दै केन्द्रिय सरकारले डेडिकेटेड र ट्रंकलाइनको अर्बौंको विद्युत् महशुलमा उद्योगीलाई छुट दिएको भन्दै आफुहरुले पनि महसुस नतिर्ने र लाइन काट्न समेत नदिने बताएका हुन् ।

उनीहरुले जिल्ला तहका सबै महसुल काउन्टर बन्द गर्ने समेत चेतावनी दिएका छन् । स्थानीय युवा नवराज थापाले देशमा रहेका बिदेशी माडवाडीले पैसा नतिर्दा हुने, नागरिकको भने हर क्षेत्रमा हिसाबकिताब गरी भ्रष्टाचारको लागि नेताका लागि कर तिर्नुपर्ने भन्दै प्रश्न गरे।

उता बिद्युत महसुल नतिरेको भन्दै प्राधिकरणले केहि समय अगाडि ६ वटा उद्योगको लाइन काटिदिएको थियो भने थप उद्योगको लाइन पनि काट्ने तयारीमा थियो। प्राधिकरणले बक्यौता नतिरेको भन्दै पछिल्लो समय जगदम्बा स्टिल्स, जगदम्बा सिन्थेटिक्स, रिलायन्स स्पिनिङ्ग मिल्स, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट र हुलास स्टिलको उद्योगको लाइन काटेको थियो। 

प्राधिकरणकाअनुसार जगदम्बा स्टिल्सको १ अर्ब ६० करोड, जगदम्बा सिन्थेटिक्सको २० करोड, रिलायन्स स्पिनिग्सको ७५ करोड ३७ लाख, घोराही सिमेन्टको ५१ करोड, अर्घाखाँची सिमेन्टको ४४ करोड ८६ लाख, हुलास स्टिल्सको १४ करोड रुपैयाँ बक्यौता छ। 

६१ उद्योगले ८ अर्ब २६ करोड बक्यौता तिर्नुपर्ने प्राधिकरणको पछिल्लो दाबि छ। यसअघि ६१ उद्योगले झन्डै २३ अर्ब तिर्नुपर्ने प्राधिकरणले दाबि गरेको थियो। तर विवाद समाधानको लागि गत पुषमा पुर्वन्यायधिश गिरिशचन्द लालको अध्यक्षतामा गठन गरिएको ‘विद्युत महसुल विवाद समाधान आयोग’ ले प्राधिकरणलाई २०७२ माघदेखि २०७५ बैशाखसम्मको मात्रै प्रिमियम महसुल उठाउन सुझाब दिएको थियो। तर यसका लागि प्राधिकरणले  दाबि पुग्ने प्रमाण प्राधिकरणले उपलब्ध गराउनुपर्ने आयोगको प्रतिवेदनमा उल्लेख छ । 

भिडियो हेर्नुस्

प्रतिक्रिया दिनुहोस्