विद्युत् चुहावट नियन्त्रणमा ऐतिहासिक उपलब्धि हासिल- कार्यकारी निर्देशक घिसिङ
काठमाडौँ,भदौ २। उज्यालो नेपालको सम्वाहकका रुपमा स्थापित नेपाल विद्युत् प्राधिकरणले शनिबार आफ्नो स्थापनाको ३९औँ वार्षिकोत्सव मनाएको छ । शनिबार यहाँ आयोजित वार्षिकोत्सव समारोहमा बोल्दै बोल्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणले पछिल्ला सात वर्षदेखि गर्दै आएको कार्यप्रगतिलाई गत वर्ष पनि निरन्तरता दिँदै विद्युत्को उत्पादन क्षमतामा वृद्धि गरिएको, प्रसारण तथा वितरण प्रणालीको विस्तार गरी आन्तरिक खपतमा वृद्धि गरिएको उल्लेख गरे ।
विद्युत्को उत्पादन, प्रसारण र वितरण संरचना निर्माण गरी आमउपभोक्तालाई नियमित, भरपर्दो र सर्वसुलभ रूपमा विद्युत् सेवा प्रदान गर्न प्राधिकरण क्रियाशील रहेको बताए ।
विद्युत् निर्यात वित्तीय अवस्थामा सुधार र विद्युत् चुहावट नियन्त्रणमा ऐतिहासिक उपलब्धि हासिल गर्न प्राधिकरण सफल भएको कार्यकारी निर्देशक घिसिङले बताए । हरेक वर्ष वृद्धि हुँदै आएको नाफाबाट उक्त अवधिभित्र प्राधिकरणले विद्युत् उत्पादन, प्रसारण र वितरणका विभिन्न आयोजनामा रु एक खर्बभन्दा बढी लगानी गर्न सफल भएको उनले जानकारी दिए ।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले प्राधिकरणले आफ्ना सहायक तथा सम्बद्ध कम्पनीमा थप रु ५६ अर्बभन्दा बढी लगानी गरेको स्पष्ट पारे । उनका अनुसार प्राधिकरणको कूल सम्पत्ति गुणात्मक रूपले वृद्धि भई रु दुई खर्ब ११ अर्बबाट बढेर रु छ खर्ब ३२ अर्ब पुगेको छ ।उपभोक्ता सङ्ख्या ५४ लाख ६० हजार पुगेको छ ।
सामुदायिक ग्रामीण विद्युतीकरणबाट विद्युत् सेवा उपभोग गरिरहेका चार लाख ७५ हजार ग्राहक राष्ट्रिय ग्रिडबाट विद्युत् सेवा उपभोग गर्ने ग्राहकको सङ्ख्या ५९ लाख ३५ हजार पुगेको छ । मुलुकभरका करिब ९९ प्रतिशत नागरिकमा विद्युत् सेवा पुगेको उनले जानकारी दिए ।