काठमाडौंमा गुँला पर्वको रौनक
काठमाडौं,भदौ २ । काठमाडौंको स्वयम्भूमा गुँला पर्वको अवसरमा परम्परागत बाजा बजाएर परिक्रमा गर्दै नेवार समुदायका मानिसहरूले सो पर्व मनाएका छन् । बौद्ध धर्म मान्ने नेवार समुदायले हरेक वर्षको एक महीना (साउन शुक्ल प्रतिपदादेखि भदौ शुक्ल प्रतिपदा) सम्म यो पर्व मनाउने गर्दछन।
सो अवधिमा हरेक दिन उनीहरू बाजागाजासहित स्वयम्भू पुग्ने गर्छन् । यसक्रममा जुन बाजा बजाइन्छ, त्यसलाई नै गुँला बाजा भनिन्छ । उपत्यकाका बौद्ध धर्मावलम्बीहरू स्वयम्भूसँगै चोभारस्थित मत्स्येन्द्रनाथ मन्दिर, मञ्जुश्री, गोल्डेन टेम्पल लगायत विहार वा महाविहार गई पूजा गर्छन् । यो पर्वका सम्बन्धमा एक किम्वदन्ती छ– साउन महीनामा गौतम बुद्धले वर्षावास बिताएका थिए ।
त्यसकै सम्झनामा पर्व मनाउन थालिएको हो । साउनमा वर्षा हुने र त्यसका कारण आउने बाढीपहिरोबाट क्षति नहोस् भनेर पर्व मनाउने मान्यता रहेको संस्कृतिविद् बताउँछन् । श्रावण शुक्ल प्रतिपदादेखि शुरु भएको गुँला पर्व एक महीना सम्म सञ्चालन हुन्छ ।