विकासका बेथिति : संघ र प्रदेश सरकारका निकायबीच छैन समन्वय, एउटै सडकमा दोहोरो ठेक्का
वीरगञ्ज,भदौ २ । संघ र प्रदेश सरकारका विकासे कार्यालयहरूबीच समन्वयको कमीले वीरगञ्जमा एउटा सडक कामभन्दा विवादको कारण बढी बनेको छ । संघीय सरकारको सघन शहरी तथा भवन निर्माण आयोजनाले प्रदेश सरकारको भौतिक पूर्वाधार कार्यालयले पहिल्यै ठेक्का लगाएको सडक बनाएपछि विवाद भएको हो ।
यो विषयमा अहिले ती दुई कार्यालय र निर्माण व्यवसायीबीच तानातानको अवस्था उत्पन्न भएको छ । भौतिक पूर्वाधार कार्यालयले ठेक्का लगाएको बाटोमा सघन शहरीले आफ्नो ठकेदार कम्पनीमार्फत कालोपत्रे गराएपछि समस्या बढेको हो ।
रमण/श्यामसुन्दर/महावीरले काम गरिरहेका अन्य टुक्रे सडकमा ठेक्का सम्झौताअनुसार कामको परिमाण नपुगेपछि सो ठेक्का थपिएको हो । शहरीले सो सडकको भेरिएसन गरेर काम दिएको सघन शहरी तथा भवन निर्माण आयोजनाका सूचना अधिकारी इन्जिनियर सञ्जीव साहले बताए । सघन शहरीका निर्माण व्यवसायीले सो सडकको काम २०८० जेठमा पूरा गरेको पनि सूचना अधिकारी साहले बताए ।
रमण/श्यामसुन्दर/महावीरले काम गरिरहेका अन्य टुक्रे सडकमा ठेक्का सम्झौताअनुसार कामको परिमाण नपुगेपछि शहरीले सो सडकको भेरिएसन गरेर काम दिएको सघन शहरी तथा भवन निर्माण आयोजनाका सूचना अधिकारी इन्जिनियर सञ्जीव साहले बताए । सघन शहरीका निर्माण व्यवसायीले सो सडकको काम २०८० जेठमा पूरा गरेको पनि सूचना अधिकारी साहले बताए ।
भौतिक पूर्वाधार कार्यालयका प्रमुख दीपक मिश्रले आफूहरूले ठेक्का लगाइसकेको सडकमा सघन शहरीले ठेक्का दिएपछि शिवाकोले विवाद गरेको बताए । सघन शहरी र भौतिक पूर्वाधार कार्यालयबीच भएका पत्राचारमा २ निकायबीच समन्वयको कमी देखिएको छ ।
सघन शहरीले भौतिक पूर्वाधारसँग शुरुमा समन्वय नगरी काम दिएपछि पत्राचार गरेको छ । भौतिक पूर्वाधारले यसबारेमा थाहा पाएर पत्राचार गरेपछिमात्रै सघन शहरीले पत्राचार गरेको हो ।
सघन शहरीका कार्यालय प्रमुख विनोद सिंह भने वीरगञ्ज महानगरपालिकाले सो सडक बनाइदिन आग्रह गरेकाले भेरिएसन स्वीकृत गराएर काम दिएको बताउँछन् । उनले यसबारेमा भौतिक पूर्वाधार कार्यालयलाई लिखित जानकारी दिएको दाबी गरे ।
ती दुई निकायबीच भएका पत्राचारमा सघन शहरीले भौतिक पूर्वाधारलाई यसबारेमा पूर्वजानकारी गराएको पत्राचार भने देखिँदैन । सघन शहरीले २०७९ भदौ १० गते भेरिएसन स्वीकृत भएको बताएको छ ।
२०७९ फागुन २ मा भौतिक पूर्वाधारले सघन शहरीलाई पत्र लेखेर आफूले ठेक्का लगाएको सडकमा समन्वय नगरी निर्माण अघि नबढाउन भनेको छ । त्यसपछि फागुन ८ मा सघन शहरीले भौतिक पूर्वाधारलाई लेखेको पत्रमा सो सडकखण्डमा सबग्रेडको कामसमेत अघि बढेकोले समन्वय गरेर काम गर्ने ‘गोलमटोल’ जवाफ दिएको देखिन्छ ।
त्यसपछि ती निकायबीच कुनै पत्राचार नभएको र ठेकेदारले काम सकेर भुक्तानी लगिसकेको सूचना अधिकारी साहले जानकारी दिए ।
‘जसले गरेको भए पनि काम भएको छ । त्यसमा दोहोरो भुक्तानी भएको छैन । अर्को ठेकेदारले बाँकी काम गरेर फरफारक गरे भैहाल्यो नि,’ सघन शहरीका प्रमुख सिंहले भने ।
शिवाकोका आधिकारिक प्रतिनिधि सुशील ठाकुरले आफ्नो ठेक्कामा अर्को ठेकेदारले काम गरिदिएपछि परिमाण नपुग्ने र ठेक्का फरफारकमा कानूनी समस्या हुने दाबी गरेका छन् । ठेक्का फरफारक हुन ९० प्रतिशतभन्दा बढी काम हुनुपर्नेमा त्यो परिणम नपुग्ने उनले बताए । आफूले माटो र ग्राभेलको काम ससिकेको सडक अरू ठेकेदारलाई दिइएको र भुक्तानीसमेत उसैलाई दिइएको भन्दै उनले आपत्ति जनाए ।
सो सडकखण्डको ठेक्काको पहिलो पटकको समयसीमा गुजारिसकेको शिवाकोले अहिलेसम्म बाँकी काम भने राम्ररी नगरेको भौतिक पूर्वाधार कार्यालयका प्रमुख मिश्रले बताए । सो ठेक्काको म्याद आगामी चैतसम्म थपिएको उनले जानकारी दिए ।