जुम्लाका किसान स्याउ टिप्न ब्यस्त
जुम्ला,भदौ १ । जुम्लामा स्याउ पाक्न थालेपछि किसानले टिप्न सुरु गरेका छन् । साउनको अन्तिम हप्तादेखि नै किसानले आफ्नो बगैँचाको स्याउ टिप्न सुरु गरेका हुन् ।
बगैँचामै स्याउ व्यापारीसँग समन्वय गरेर किसानले स्याउ टिप्न सुरु गरेका हुन् । जिल्लाको तिला गाउँपालिकाबाट किसानले स्याउ टिप्न थालेका छन् । तिला गाउँपालिकाको नदी क्षेत्रको स्याउ बगैँचाबाट टिप्न सुरु भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण स्याउ सुपरजोन कार्यालयले जनाएको छ ।
तिला गाउँपालिका–२ का किसान कलिमान रावतले स्याउ टिप्न सुरु भएको जानकारी दिए । उनले आफ्ना साना ठुला गरेर करिब सात सय स्याउको बिरुवा भएकोमा करिब दुई सय बिरुवा स्याउ फलेको जानकारी दिए । अहिलेसम्म उनले करिब एक हजार पाँच सय क्विन्टल स्याउ टिपेको बताएका छन् ।
किसान रामबहादुर रावतले तिला–२ मा रहेको स्याउ बगैँचामा छ सय बिरुवा रहेको जानकारी दिए । छ सय बिरुवामध्ये १५० स्याउको बिरुवा यस वर्ष फलेको उनको भनाइ छ । यस वर्ष आफ्नो बगैँचामा ४० क्विन्टल उत्पादन हुने अनुमान गरिएको किसान रामबहादुरले बताए ।
यस पटकको जुम्लाको स्याउ भने निकै राम्रो भएको किसानले दाबी गरेका छन् । यता सरोकारवाला कार्यालयले भने भदौको पहिलो हप्तामा टिप्न ठिक हुने भए पनि किसानले टिप्न सुरु गरेको बताएका छन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण स्याउ सुपरजोन परियोजना कार्यालय जुम्लाका प्रमुख खेमराज शाहीले किसानले तिला गाउँपालिकामा स्याउ टिप्न सुरु गरिरहेको जानकारी दिए । उनका अनुसार किसानको स्याउ कति गुणस्तर छ भनेर नमुनाका रूपमा जाँच गर्नसमेत थालिएको बताए । स्याउ टिप्न सुरु गरेपछि गुणस्तरसमेत जाँच गरिएको उहाँले बताए । उनका अनुसार यस वर्ष जुम्लामा स्याउ कति उत्पादन हुने भन्ने विषयमा एक हप्तामा अनुमान गर्न सकिने बताए ।