खुम्बु बाढी: सेना र प्रहरी उद्धारमा सक्रिय, एक बेपत्ता



सोलुखुम्बु,साउन ३२ । सोलुखुम्बुको खुम्बुमा हिमताल फुट्दा थामे गाउँका घरमा क्षति पुगेको छ ।  बाढीले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ५ थामे केही घरहरू बगाएको छ । बाढीले गाउँ नै बगरमा परिणत भएको छ । 

हिमताल वा हिमपहिरो के रहेछ ?

पछिल्लो समय त्यसको अझै पनि यकिन हुन सकेको छैन ।  सुख्खा पहिरोले खोला पुरिएको हो कि भन्ने पनि एउटा अनुमान भएको छ । तीन-चार दिन अगाडि पानी परिरहेको अवस्थामा पानीले हिउँ जमेको हो वा आज दिउँसो धेरै तातो घाम लाग्दा साना–साना हिउँहरु जमेको ठाउँबाट त्यो पग्लेर बगेको हो कि भन्ने अनुमान छ । हिमतालै हो अथवा हिमपहिरो हो, या सुख्खा पहिरो हो अथवा स–साना जमेको हिउँ पग्लेर हो ? त्यसको यथार्थ विवरण हामीले प्राप्त गर्न सकेका छैनौं । 

 कति मानवीय र भौतिक क्षति भयो ?

अहिलेसम्म घर र होटल गरेर १२ वटा पूर्ण क्षति भएका छन् । हिमालय ट्रस्टको एउटा क्लिनिकमा क्षति भएको छ । एउटा विद्यालयमा पूर्ण क्षति भएको छ । सात वटा घर चाहिँ उच्च जोखिममा छन् । एक जना हराएको आशंका गरिएको छ । त्यसैगरी अन्य मानवीय क्षतिको कुनै विवरण प्राप्त भएको छैन । त्यहाँ भएका बुढाबुढी, केटाकेटीलाई नेपाली सेना र नेपाल प्रहरीले उद्धार गरिसकेको छ । थप कोही छ कि भनेर नेपाल प्रहरी र नेपाली सेनाले खोजिरहेको छ । जनताको बहुमूल्य सम्पत्ति संरक्षण गर्न र सुरक्षित रुपमा ल्याउनका लागि नेपाली सेना र नेपाल प्रहरीले घर-घरमा गएर ल्याएर सम्बन्धित व्यक्तिलाई दिने काम गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्