एसइई नतिजामा अङ्क चढाउँदा अत्यधिक त्रुटि
काठमाडौ,साउन ३२ । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सबैभन्दा बढी त्रुटि मार्कस्लिपमा अङ्क चढाउँदा र कम्प्युटरमा प्रविष्ट गर्दा भएको पाइएको छ । २०८० सालको एसइईको नतिजाप्रति चित्त नबुझी पुनर्याेग गरेका विद्यार्थीको नतिजाबाट यस्तो देखिएको हो । पुनर्योगका लागि दिएकाहरूको नतिजा आउने क्रम अन्तिम चरणमा पुगेको छ ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का अनुसार २०८० सालको एसइईको नतिजालाई लिएर पुनर्योगका लागि १८ हजार ६१२ निवेदन परेको थियो । पुनर्योगका लागि निवेदन दिएकामध्ये अब ३० जनाको मात्रै नतिजा सार्वजनिक हुन बाँकी छ । बाँकी नतिजा एक/दुई दिनमै सार्वजनिक हुने प्रक्रियामा रहेको बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) नन्दलाल पौडेलले बताए ।
बोर्डका अनुसार तीमध्ये ८४३ विषयमा नतिजा परिवर्तन भएको छ । यसो भनेको कुल आवेदनको ४.६ प्रतिशत हुन आउँछ । बोर्डले दिएको जानकारी अनुसार नतिजामा त्रुटि आउनुमा थुप्रै कारण पत्ता लागेको छ ।
जसमध्ये मार्कस्लिपमा अङ्क चढाउँदा र कम्प्युटरमा प्रविष्ट गर्दा सबैभन्दा धेरै अर्थात् १.१४ प्रतिशत त्रुटि देखिएको छ । उत्तरपुस्तिकाबाहिर अङ्क चढाउँदा ०.९४ प्रतिशत त्रुटि भएको छ ।
बाहिर अङ्क जोड्दा ०.८७ प्रतिशत र उत्तरपुस्तिका परीक्षणका क्रममा ०.७० प्रतिशत त्रुटि भएको देखिएको छ । परीक्षण गर्दा र जोड्दा दुवैमा भएको त्रुटि ०.०४ प्रतिशत छ । उत्तरपुस्तिकाबाहिर अङ्क चढाउँदा र जोड्दा ०.९२ प्रतिशत, जोड्दा र प्रविष्ट गर्दा ०.०१ प्रतिशत र परीक्षण गर्दा, अङ्क चढाउँदा र जोड्दा ०.०१ प्रतिशत त्रुटि देखिएको बोर्डले जनाएको छ ।
परीक्षा नियन्त्रक पौडेलले कक्षा ९ मा फाराम भर्ने बेलादेखि भएको त्रुटिको एकमुष्ट परिणाम एसइईको नतिजा सार्वजनिक गर्दा देखिएको बताए । “सरसर्ती बाहिरबाट हेर्दा बोर्डको कमजोरीका कारण नतिजामा त्रुटि भयो भन्ने सुनिन्छ । तर वास्तविकता त्योभन्दा फरक छ,” उनले भने, “कतै परीक्षार्थी आफैँले गलत अङ्क लेखेका कारण समस्या देखिएको छ । कतै परीक्षणका क्रममा पनि समस्या देखिएको छ । एउटा निकायले मात्रै सुधार गरेर यो समस्याबाट पार पाउन सकिने देखिँदैन ।”
बोर्डका अनुसार अहिलेको पुनर्योगबाट परिवर्तन भएको नतिजा गत वर्षको भन्दा थोरै हो । २०७९ साल (गत वर्ष) को एसइईको नतिजाप्रति चित्त नबुझाई पुनर्योगका लागि तीन हजार ४५६ जनाले आवेदन दिएकोमा ९६४ अर्थात् आवेदनको २५ प्रतिशतको नतिजा परिवर्तन भएको थियो । त्यस्तै २०७८ सालमा ६४१ को आवेदन परेकोमा २९८ अर्थात् ४.९३ प्रतिशतको नतिजा परिवर्तन भएको थियो ।