गोरखा सदरमुकाममा खानेपानी अभाव



गोरखा,साउन ३२ । गोरखा सदरमुकाम क्षेत्रमा खानेपानी वितरण गर्दै आएको पृथ्वीनारायण साना सहकारी खानेपानी उपभोक्ता संस्थाले केही दिन पानी प्रवाह गर्न नसक्ने भएको छ । बुधबार रातिको अविरल वर्षाले सहिद लखन गाउँपालिका–७ को ढाकेखोला र छाङखोलाको मुहानमा पाइपलाइन तथा संरचनामा क्षति पुगेपछि सदरमुकाममा पानीको अभाव भएको संस्थाका अध्यक्ष सीता खड्काले जानकारी दिइन् ।

उनका अनुसार अविरल वर्षा र बाढीले पानीको मुहानमा वरिपरि लगाएको रिटनिङवाल, सय मिटर पाइपलाइन बगाएर लगेको र मुहानको इन्टेकमा क्षति गर्दा झन्डै डेढ करोड जति क्षति पुगेको छ । “पूर्ण पमा क्षति पुगेकाले सामान्य मर्मत गरेर पानी चलाउन नसकिने भएको छ, गोरखा सदरमुकामवासीलाई पानी सहज तवरबाट वितरण गर्न सबै दक्ष शक्ति प्रयोग गर्दा पनि कम्तीमा एक साता लाग्ने देखिन्छ, उनले भनिन ।”

गोरखा सदरमुकाम क्षेत्रमा पृथ्वीनारायण साना सहकारी उपभोक्ता संस्थाले १३ सय घरधुरीलाई पानी वितरण गर्दै आएकोमा दुई दिनदेखि पानी दिन नसक्दा सबैभन्दा होटेल व्यवसायमा बढी प्रभाव परेको छ । संस्थामार्फत दैनिक १० लाख लिटर पानी उपभोक्ताको घरमा वितरण हुदै आएको थियो । 

प्रतिक्रिया दिनुहोस्