कलेज छात्रवृत्तिमा १८ करोड रुपैयाँसम्म दिइने
काठमाडौं,साउन ३२ । भक्तपुरस्थित नेपाल इञ्जिनियरिङ कलेजले इन्जिनियरिङ अध्ययन गर्ने विद्यार्थीलाई १५ देखि १८ करोड रुपैयाँसम्म छात्रवृत्ति दिने गरेको जनाएको छ ।
कलेजका अध्यक्षसमेत रहेका चागुँनारायण नगरपालिकाकाका नगरप्रमुख जीवन खत्रीले बिहीवार एक कार्यक्रममा विश्वविद्यालयको १० प्रतिशत छात्रवृत्तिसँगै स्थानीय तह (वडा, नगरपालिका छात्रवृत्ति, प्रादेशिक छात्रवृत्ति, कलेज टपर छात्रवृत्ति, सेमेस्टर टपर छात्रवृत्तिसमेत कलेजले दिने गरेको बताए ।
गैर नाफामुलक सो इन्जिनियरिङ कलेजमा हरेक वर्ष स्नातक तहमा ४८० जना विद्यार्थी र स्नातकोत्तर तहमा १५० विद्यार्थीहरू भर्ना हुने गर्छन् ।
केही वर्षअघि तत्कालीन कलेजका अध्यक्ष लम्बोदर न्यौपानेलगायत अन्य केही पदाधिकारीले कलेज नै व्यक्तिका नाममा दर्ता गर्न खोज्दा विवाद भएको थियो । न्यौपानेबाट घुस स्वीकारेको अडियो तथा भिडियो पनि सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राज नारायण पाठकले राजीनामा दिनुपरेको थियो ।