पर्यटक आगमन बढेपछि होटेलहरूको नाफा वृद्धि



काठमाडौं,साउन ३२ । नेपालमा बाह्य पर्यटकको आगमन बढेसँगै गत आर्थिक वर्ष (आव)मा होटलहरूको नाफामा वृद्धि भएको छ । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत होटेलहरूले सार्वजनिक गरेको गत आवको अपरिष्कृत वित्तीय विवरणअनुसार दुई ओटाको नाफा बढेको छ, जसमा सोल्टी होटेल र तारागाउँ रिजेन्सी होटेल (हायात होटेल) छन् । 

सोल्टीले गत आवमा ६० करोड १० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने उक्त होटेलको खुद नाफा ५५ करोड ४९ लाख रुपैयाँ थियो । 

सोल्टीको गत आवमा कुल आम्दानी पनि बढेको छ । सो अवधिमा होटेलले २ अर्ब ४९ करोड ७५ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो । अघिल्लो आवमा भने कम्पनीको कुल आम्दानी २ अर्ब २५ करोड ४६ लाख रुपैयाँ थियो । 

यस्तै, तारागाउँले गत आवमा ५१ करोड ८२ लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवमा यस होटेलको खुद मुनाफा ४० करोड ४३ लाख रुपैयाँ थियो । तारागाउँले गत आवमा सञ्चालन र अन्य गरेर कुल १ अर्ब ७३ करोड ८३ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आव तारागाउँको कुल आम्दानी १ अर्ब ५७ करोड १८ लाख रुपैयाँ थियो । 

नेपालमा बाह्य पर्यटक आगमन बढेपछि होटेलहरूको नाफा वृद्धि भएको जानकार बताउँछन् ।

अध्यागमन विभागको तथ्यांकअनुसार सन् २०२४ को पछिल्ला चार महीना (अप्रिल–जुलाई)मा पर्यटन आगमन ३६ हजारभन्दा बढीले वृद्धि भएको छ । सो अवधिमा ३ लाख ४२ हजार ९२४ पर्यटक नेपाल आएका थिए । सन् २०२३ को सोही अवधिमा नेपाल आउने पर्यटकको संख्या भने ३ लाख ६ हजार ४५२ मात्रै थियो, जसमध्ये अप्रिलमा ९८ हजार ७७३, मेमा ७७ हजार ७०३, जुनमा ७२ हजार २५० र जुलाईमा ५७ हजार ७२६ पर्यटक भित्रिएका थिए । 

सन् २०२४ को अप्रिलमा १ लाख ११ हजार ३७६, मेमा ९० हजार २१३, जुनमा ७६ हजार ७३६ र जुलाईमा ६४ हजार ५९९ पर्यटक नेपाल आएको विभागको तथ्यांक छ । 

सन् २०१९ मा शुरु भएको कोरोना भाइरसको महामारीपछि सुस्त बनेको पर्यटन आगमन पछिल्लो समय बढ्न थालेको छ । त्यसयता सन् २०२३ मा पहिलोपटक १० लाखभन्दा बढी पर्यटक नेपाल भित्रिएका छन् । 

पर्यटक आगमन बढ्न थालेसँगै होटेलको ‘अकुपेन्सी’ पनि बढेको छ । तारागाउँ रिजेन्सी होटेलले सार्वजनिक गरेको गत आवको चौथो त्रैमासिक वित्तीय विवरणमा पर्यटक आगमन बढ्दा होटेलहरूको ‘अकुपेन्सी दर’ बढेको उल्लेख छ । 

गत आवमा नेप्सेमा सूचीकृत दुईओटा पाँचतारे होटेलको नाफा बढेपनि एकले नोक्सानी घटाएको छ भने एकको नाफा घटेको छ ।

सिटी होटेलले घटायो नोक्सानी

गत आवको सिटी होटेल (हायात प्लेस)ले नोक्सानी घटाएको छ । आव २०७९/८० मा २७ करोड २२ लाख रुपैयाँ घाटा बेहोरेको यो होटेलको घाटा आव २०८०/८१ मा २० करोड ४७ लाख रुपैयाँ छ । 

अघिल्लो वर्षको तुलनामा गत आवमा सञ्चालन आम्दानी बढेकाले होटेलको घाटामा कमी आएको हो । 

वित्तीय विवरणअनुसार सिटीको सञ्चालन आम्दानी अघिल्लो आवमा ४७ करोड ३१ लाख रहेकोमा गत आवमा ५० करोड ४२ लाख रुपैयाँ पुगेको छ । 

बाढीपहिरोको समाचारका कारण ग्राहक आगमन घट्नु, सरकारले विलासिता कर लगाउँदा ग्राहकको लागत बढ्नु र नेपालमा धेरै ब्रान्डेड होटेल खुल्नुलाई सिटीले चुनौतीका रूपमा उल्लेख गरेको छ ।

र्‍याडिसनको घट्यो नाफा  

गत आवमा ओरियन्टल होटल्स लिमिटेड (र्‍याडिसन होटेल)को भने नाफा घटेको छ । ओरियन्टल होटल्सले गत आवमा १२ करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । त्यसको अघिल्लो आवमा उक्त होटेलको नाफा १६ करोड ९ लाख रुपैयाँ थियो । 

गत आवमा २३ दशमलव ९९ प्रतिशतले नाफा घट्नुमा विवाह, व्रतबन्ध जस्ता लगनको साइत थोरै भई बैंकेटको विक्रीमा उल्लेखनीय ह्रास आउनु र कर्मचारी तथा अन्य खर्च वृद्धिलाई कम्पनीले कारण मानेको छ । 

कम्पनीले वित्तीय विवरणमा लेखेको छ, ‘नयाँनयाँ होटेल खुल्ने क्रम, पुराना होटेलहरू पनि नयाँ होटेलसँग प्रतिस्पर्धा गर्न हालको संरचनालाई रिनोभेशन गर्दै जाँदा नाफामा वृद्धि नभएको हो ।’

प्रतिक्रिया दिनुहोस्