सर्पले डसेर छ वर्षीय बालिकाको ज्यान गयो
मोरङ,साउन ३१ । मोरङको केराबारी गाउँपालिका ९ स्थित स्कुल चौकमा विषालु सर्पको डसाइबाट ६ वर्षीया बालिकाको मृत्यु भएको छ । बुधवार साँझ गोमन सर्पको डसाइबाट स्थानीय मनोज पण्डितकी छोरी प्रतिमा पण्डितको मृत्यु भएको हो ।
विद्यालयबाट साँझ घर फर्केपछि शौचालयमा गएको बेला प्रतिमालाई विषालु सर्पले डसेको केराबारी –९ का वडाध्यक्ष गोपाल याक्खाले बताए । सर्पले डसेको कुरा अभिभावकले थाहा पाउन साथ बालिकालाई उपचारका लागि तत्काल इटहरीस्थित सर्प दंश उपचार केन्द्र पठाइएको थियो ।
त्यहाँ उपचार सम्भव नभएपछि उनलाई विराटनगरको अस्पतालमा रिफर गरिएको थियो । अस्पताल पुग्दा बालिकाको मृत्यु भएको चिकित्सकहरूले बताएका थिए ।